काठमाडौं, माघ २८ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल भुटानलाई ८ विकेटले पाखा लगाउँदै लगातार दोस्रोन जित निकालेको छ ।
भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो । ब्याटिङमा नेपालकी सीता राना मगरले ३२ र रुबिना क्षेत्रीले १७ रनमा अविजित रहे । कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रनमा आउट भए । बलिङमा भुटानकी अञ्जली गुरुङ र अञ्जुली घलीले समान एक९एक विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रन बनाएको थियो । न्वाङ्ग छोदेनले २४ र छिरिङ जाङ्मोले १६ रनको योगदान दिए । नेपालका इन्दु बर्मा, सीता राना मगर, कविता कुँवर र कविता जोशीले एक(एक विकेट लिए।
प्रतियोगिताको पहिलो दिन शनिबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ ।