Logo

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्नः ‘संविधानमा कानुनको अगाडि सबै समान छन् किन लेखेको ?’



काठमाडौं, २८ माघ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री भीम रावलले वर्तमान सरकारले सबैलाई समान ब्यवहार नगरेको आरोप लगाएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पछिल्लो समय सरकारले विभिन्न भ्रष्टाचारका फाइल खोलेपनि त्यसमा संलग्न सबैलाई समान रुपमा कारबाही नगरेको बताए । नेता रावलले सरकारले सुन काण्ड, ललिता निवास काण्ड, बाँसबारी छालाजुत्ता कारखानाको जग्गामा सरकारले छानीछानी सानालाई कारबाही गरेर ठूलालाई उन्मुक्ति दिएको आरोप लगाए ।

‘यो प्रधानमन्त्रीले मात्रै खोलेर फाइल खोलिएको भन्ठान्नु भएको छ ? भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने उहाँहरुका जुन भाषण छन् नि, सुन काण्डमा कयौं मान्छेहरुको नाम मुछिए । मुछिएका सबैलाई किन कारबाही गरिएन ? ललिता निवास र छालाजुत्ता कारखानाको कुरा र टीकापुरमा कयौं व्यक्तिहरुका नाम मुछिएका छन्, तिनलाई कारबाही किन गरिएन ? अनि प्रधानमन्त्रीले गफ किन दिने ? कानुन र संविधान भनेको के हो त सबैले बुझेको होला नि ? ‘होईन यस्ता धनी मान्छे, यस्ता उद्योगपतिलाई थुन्न मिल्छ ?’ त्यसो भए नेपालको संविधानमा कानुनको अगाडि सबै समान छन् किन लेखेको ?’ उनले प्रश्न गरे ।

नेपालीको अगाडि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतियार उठाउँदा गरेको वाचा र नेपालको संविधानमा लेखिएको कुनै पनि कुरा वर्तमान सरकारले पूरा गर्न नसकेको नेता रावलले बताए । वर्तमान राजनीतिक दलहरु विचार, नीति, सिद्धान्त र दिशाहीन बनेको उनको दाबी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्