काठमाडौं,२८ माघ । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायालय स्वतन्त्र छ भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न नपाउने बताएका छन् ।
नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले न्यायालय स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यायालय स्वतन्त्र छ भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न नपाउने बताएका हुन् ।
न्यायाधीशहरुले कमी कमजोरी गरे न्यायपरिषद्ले कारबाही गर्ने उनको भनाइ थियो । उनले भने, “न्याय सम्पादनमा यदि कमी कमजोरी देखियो र त्यसमाथि केही कुरा जोडिएर आयो भने सरकारले कसैलाई छाड्दैन ।”
फरक प्रसङ्गमा बोल्दै नेपाली कांग्रेसका उपसभापति मन्त्री गुरुङले समुदायमा कांग्रेस अभियानका क्रममा देखिएको निराशाबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले भने, “लोकतन्त्र मान्ने मान्छे निराश हुने आत्तिने होइन । जनमत परिवर्तन भइरहन्छ ।” राजनीति निरन्तर बग्ने नदी भएकाले उतारचढाव आइरहने भन्दै उनले आत्तिन नहुने बताए ।