काठमाडौं,२८ माघ । त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि सार्वजनिक १४ जनाको नामप्रति सांसदहरुले असन्तुष्टि जनाएका छन् । आइबार बसेको राष्ट्रियसभा बैठकमा सदस्य डा. विमला राई पौड्यालले त्रिविको उपकूलपतिमा परीक्षण भइसकेका मान्छेलाई ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले विश्वविद्यालयको नेतृत्वमा रहेर पनि कुनै प्रगति गर्न नसकेका र त्रिविलाई ‘र्याङकिङ’मा पछाडि धकेल्नेहरू नै सर्टलिस्टमा परेका भन्दै नियुक्तिमा राजनीतिक हस्तक्षेप हुन सक्ने आशंका व्यक्त गरिन् । उनले ‘छनोट समितिले पुरानै अनुहारलाई विश्वविद्यालयको नेतृत्व दिन लागेको हो ?’ भनी प्रश्न समेत गरेकी छन् ।
उनले भनिन्,‘आवेदनमा कति राम्रा मान्छेहरु परेकै छैनन् । त्यो भित्र टेस्टेड फेल भएका अनुहारहरु पनि आएका छन् । किनभने पहिले विश्वविद्यालयका नेतृत्व लिइसकेका, कुनै प्रगति गर्न नसकेका र र्याङकिङमा विश्वविद्यालयलाई पछाडि धकेलेका मान्छेहरु पनि आएका छन् । फेरि पनि प्रधानमन्त्रीलाई मेरो एउटै प्रश्न छ, राजनीतिक हस्तक्षेप हुन दिन्न भनेर संकल्प गर्दै गर्दाखेरी टेस्टेड र फेल भएका अनुहारहरुलाई फेरि विश्वविद्यालयमा ल्याउन छानेका हो त्यो समितिले ? फेल भइसकेका मान्छेहरुलाई फेरि किन ल्याएको ? कहिले बौद्धिक चोरीको आरोप लागेका, कहिले अख्तियारबाट मुद्दा चलेका मान्छेहरुलाई किन ल्याएको विश्वविद्यालयको छनौटमा ?’
शुक्रबार उपकूलपति सिफारिस समितिले आवेदन दिएकामध्येबाट १४ जनाको नाम सर्टलिस्टमा राखेर सार्वजनिक गरेको थियो । जसमा हालका कार्यवाहक उपकूलपति डा शिवलाल भुसालदेखि पूर्व उपकूलपति डा तिर्थराज खनियासम्मको नाम परेको छ । खनियामाथि वौद्धिक चोरीको आरोप लाग्दै आएको छ । तत्कालन प्रधानमन्त्री सुशील कोइरालाको पालामा उपकूलपति बनेक खनियाँ नेपाली कांग्रेसका नेतासमेत हुन् ।
कांग्रेस चितवनबाट पटक पटक निर्वाचनमा उम्मेदवार सिफारिस हुँदै आएका उनी फेरिपनि त्रिविको उपकूलपति हत्याउने दाउमा रहेका छन् । वौद्धिक चोरीको आरोप लागेका र टेस्टेड भईसकेका व्यक्रिलाई सर्टलिस्टमा राखेको भन्दै शुक्रबार रास्वपाकी नेतृ तथा सांसद सुमना श्रेष्ठ र महामन्त्री डा मुकुल ढकालले पनि विरोध जनाएका थिए ।