Logo

अरुण चौधरीको बचाउमा खतिवडाले गृहमन्त्रीलाई भने, ‘क्रान्तिकारी देखिन मान्छेलाई डामेको साँढेजस्तो बनाउन भएन’



काठमाडौं, २९ माघ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले क्रान्तिकारी देखिन जसलाई पायो उसैलाई पक्राउ गर्ने आदेश दिँदै हिँडेको आरोप लगाएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले व्यवसायी अरुण चौधरीलाई गृहमन्त्रीले बढि क्रान्तिकारी देखिन पक्राउ गर्ने आदेश दिएको बताएका हुन् ।

राज्यको काम आतङ्कित बनाउने नभएर कानुनसम्मत छ कि छैन भनेर हेर्न पनि आवश्यक रहेको उनले बताए । सभापति खतिवडाले पूर्वतयारी विना मान्छेलाई समाएर डामेको साँढेजस्तो बनाएर छाड्न नहुने बताए । कानुनी राज्यमा पहिला सुन्नुपर्ने र अनिमात्रै थुन्नुपर्ने उनको भनाइ छ ।

‘अरुण चौधरीको बारेमा मेरो भनाइ के हो भने– उहाँहरुले पूर्व तयारी गर्नु भएन की ? सप्रमाण यो–यो छ भनेर गएको भए अदालतले समाउन पर्ने मान्छेलाई छोड्दैछोड्दैन नि । केही कमी कमजोरीहरु होलान् । यत्रो वर्षसम्म के हेरेर बसेको ? कानुनी राज्य कहाँ थियो । सबै तयारी नगरी क्रान्तिकारी बन्नका लागि झ्यापझ्याप समाइदिने ? राज्यलाई आतङ्कित बनाउने मात्रै राज्यको काम होईन । कानुनअनुसार काम गरेको छ कि छैन हेर्ने पनि हो । मान्छेलाई आतङ्कित बनाएको छ, एक दिन समाएको छ, भोलिपल्ट छोड्दिएको छ । डामेको साँढेजस्तो बनाएर मान्छेलाई छोड्नुभएन नि,’– उनले भने ।

प्रक्रिया पुर्याउने काम सिआईबीको र गृहमन्त्रालयको नै भएको र उक्त प्रक्रिया नपुर्याइ अरुण चौधरीलाई गिरफ्तारी गरिएको उनको दाबी छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) कामिकमजोरी देखेर नै अदालतले अरुण चौधरीलाई छाडेको उनको दाबी छ ।

ललिता निवास प्रकरणमा पनि सिआईबीले जग्गा फिर्ता गर्नेहरुलाई उन्मुक्ति दिएको र अन्यलाई पक्राउ गरिएकोमा उनले असन्तुष्टि प्रकट गरे । ‘यस्तो धनीलाई छ छोयो गृहमन्त्रीले अरुलाई कहाँ बाँकी राख्छ’ भनेर देखाउनका लागि काम भइरहेको उनले बताए ।

‘ठूला माछा भन्ने,क्रान्तिकारी बन्ने, छोएको जस्तो गर्ने, अरु केही नगर्ने ? खोई आजसम्म राज्यले ठूला–ठूला चर्चा भएका यती, ओम्नी, वाइटवडी, सेक्युरेटी प्रिन्टिङ प्रेसवालामा कहाँ गयो ? कहाँ छोएको छ ? ठूला मुद्दामा केही नगर्ने खरदार, म्ुखियालाई मुद्दा चलाएर क्रान्तिकारी बन्ने प्रवृत्ति गलत छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्