Logo

नयाँ अभियान सञ्चालन गर्ने माओवादीको तयारी



काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा हिजो (आइतबार) देखि सुरु भएको बैठक आज (सोमबार) सम्पन्न भएको हो । हिजो पार्टीले भर्खरै सम्पन्न गरेको ४ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानबारे ७ भौगोलिक प्रदेश र ३ गैरभूगोल कमिटीका इन्चार्ज र अध्यक्षहरुले बैठकमा रिपोर्टिङ गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरेरसँग बैठक सम्पन्न भएको हो । केन्द्रीय कमिटी बैठकको मुख्य एजेण्डा चार महिने अभियानको समीक्षानै रहेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

प्रवक्ता सापकोटाका अनुसार माओवादीले चाँडै अर्को अभियान सञ्चालन गर्दैछ । अभियानको रुप फेरिने छ । अबको अभियान तराई, मधेश जागरण, ठूला सहरहरुमा र देशैभर सञ्चालन हुने बताइएको छ ।

यसअघि कार्यकर्तामा आधारित भएर अभियान चलाइएको बताउँदै उनले अहिले बृहत जनपरिचालनसहित अभियान चलाइने बताए । यसअघिको अभियान कमिटी गठन, पुनर्गठनमा मात्रै सीमित भएको स्वीकार गर्दै उनले अब बृहत जनपरिचालन गर्ने र आन्दोलनको रुपमा अगाडि बढाउने निर्णय भएको बताए । सापकोटाले संघीयता, गणतन्त्रलगायतका उपलब्धीहरुको रक्षाका लागि जनतालाई जागृत गराउने र यसलाई आन्दोलनको रुप दिने बैठकको निश्कर्ष रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्