काठमाडौं,२९ माघ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको नेपाल र क्यानडाबीचको सिरिज नेपालले क्लिन स्विप गरेको छ । क्यानडालाई ७ रन,४ विकेट र ९ विकेटले हराउँदै तीन खेलको श्रृंखला नेपालले कब्जा जमाएको हो ।
पहिलो खेलमा क्यानडाविरुद्ध अन्तिम समयमा कप्तान रोहित पौडेलले खेलमा उलटफेर ल्याएपछि ७ रनको रोमाञ्चक जित नेकालेको नेपालले दोस्रो खेलमा ४ विकेटकबो सहज जित निकालेको थियो । आजको अन्तिम खेलमा भने नेपालले कीर्तिमानी साझेदारी र शतकसँगै शानदार जित निकालेको छ ।
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । दुवैले शतक प्रहार गरे । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई भीम र अनिलले जितसम्म डोहोर्याए ।
अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । कुशल भुर्तेलले १३ रनको योगदान दिएका थिए । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।
क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरेका थिए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट हुँदा कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।
बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिदा कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए ।
अनिल र भीमले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पनि बनाए । दोस्रो विकेटका लागि यी दुईले १ सय ८९ रनको साझेदारी गरे । यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए ।
नेपालबाट ओडीआईमा शतक पूरा गर्ने अनिल सातौं र भीम आठौं खेलाडी बने । अनिल शतक प्रहार गर्ने दोस्रो विकेटकिपर समेत हुन् । नेपालका लागि यसअघि रोहित पौडेल, पारस खड्का , कुशल भुर्तेल , आसिफ शेख , कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले शतक बनाएका थिए ।
क्यानडासँगको सिरिजबाट नेपालका ४ जना युवाहरुले एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । यस सिरिजबाट नेपालका सूर्य तामाङ, रिजन ढकाल, हेमन्त धामी र आकाश चन्दले एकदिवसीय क्रिकेटमा डेब्यू गरेका हुन् । आकाश र हेमन्त यू १९ टोलीका सदस्य हुन भने सूर्य र रिजनले भर्खरै सम्पन्न प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशबाट शानदार प्रदर्शन गरेका थिए ।
सूर्य र रिजनले क्यानडाविरुद्धको पहिलो खेलमा डेब्यू गरेका थिए । आकाशले दोस्रो म्याचमा डेब्यू गर्दा हेमन्तले तेस्रो खेलमा राष्ट्रिय टिमबाट डेब्यूको अवसर पाए ।
सूर्य तामाङ
प्रधानमन्त्री कपमका बागमती प्रदेशबाट खेलेका सूर्यले कीर्तिमानी ३० विकेट लिँदै टिमलाई शीर्ष ४ मा पुर्याएका थिए । उनले क्यानडाविरुद्धको सिरिजको पहिलो म्याचमै डेब्यूको अवसर पाएका सूर्यले पहिलो म्याचमाा ५ अोभर बलिङ गर्दा ३२ रन दिएका थिए । उनले विकेट लिन भने सकेनन् । यता ब्याटिङतर्फ पनि उनले नटआउट रहँदै १० रन जोडेका थिए भने दोस्रो म्याचमा १० अोभर बलिङ गर्दा १ मेडन राख्दै ४६ रन दिएर १ विकेट लिएका थिए । उनी आजको खेलमा भने बेञ्चमा थिए ।
रिजन ढकाल
प्रधानमन्त्री कपमा बागमती बाटै खेलेमा रिजन ढकालले पनि पीएम कपमा १५ विकेट लिँदै राष्ट्रिय टिमका लागि आशा जगाएका थिए । क्यानडा सिरिजमा पहिलो खेलमकै डेब्यू गरेका रिजनले ७ ओभर बलिङ गरेर ३४ रन दिँदै १ विकेट लिएका थिए । ब्याटिङतर्फ उनी ४ रनमा आउट भएका थिए । दोस्रो खेलमा ७ ओभर बलिङ गरेका रिजनले ४१ रन दिएका थिए । विकेट लिन नसकेपनि उनले किफायती बलिङ गरे । उक्त खेलमा उनले ब्याटिङ गर्नु परेन । रिजन आजको खेलमा भने प्लेइङ ११ मा थिएनन् ।
आकाश चन्द
यू-१९ टिमका सदस्य रहेका आकाश चन्दले अफगानिस्तानविरुद्धको खेलमा शानदार बलिङ गरेर ५ विकेट लिएपछि नेपाल सुपर सिक्समा पुगेको थियो । नेपाललाई सुपर सिक्समा पुर्याएका आकाशले क्यानडाविरुद्धको दोस्रो खेलमा डेब्यू गरेका हुन् । दोस्रो खेलमा ५ ओभर बलिङ गरेर ३१ रन दिँदै १ विकेट लिएका आकाशले ब्याटिङ गर्न भेन पाएन् । त्यस्तै अन्तिम खेलमा आज उनले ८ ओभरमा ५१ रन दिएर १ विकेट लिए ।
हेमन्त धामी
यू-१९ टिमकै अर्का सदस्य हेमन्त धामीले क्यानडाविरुद्धको अन्तिम खेलमा डेक्यू गरेका हुन् । डेब्यू खेलमा हेमन्तले ८ ओभरमा ४९ रन दिएर ३ विकेट लिए । डेब्यू खेलमै ३ विकेट लिएपछि क्यानडा २३२ रनमा समेटिएको थियो ।