Logo

कांग्रेससँग मिलेर समाजवादको परिकल्पना सम्भव छैनः माओवादी सचिव पोखरेल



काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले वामपन्थी शक्तिले चाहेको समाजवाद एकता र ध्रबीकरणविना सम्भव नरहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेससँग मिलेर समाजवादको परिकल्पना सम्भव नरहेको बताएका हुन् । कांग्रेस नव उद्धारवादी अर्थ व्यवस्थाको हिमायती भएको बताउँदै उनले कम्युनिष्ट शक्ति मिलेरमात्र देशमा समाजवाद ल्याउन सकिने बताए ।

‘वामपन्थी शक्तिहरुको एकताविना वामपन्थी शक्तिहरुले चाहेको समाजवाद आउन सक्दैन । यो सही हो । नेपाली कांग्रेससँग मिलेर समाजवादको परिकल्पना सम्भव छैन । कांग्रेस फरक दृष्टिकोण र सोचको हो । नव उद्धारवादी अर्थ व्यवस्थाको हिमायती, जो पुँजीवादको अहिले चरम हो । त्यसले अहिले समाजवाद आउन सक्दैन । त्यसका निम्ति वामपन्थी शक्तिहरुको एकता र ध्रुबीकरण आवश्यक छ,’– उनले भने ।

कांग्रेसले माओवादीलाई पटक–पटक धोका दिएको उनको भनाइ छ । २०७९ को आम निर्वाचनदेखि लिएर राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० सम्म आइपुग्दा माओवादीलाई कांग्रेसले धोकैधोका दिएको उनको भनाएइ छ । उनले अहिले बाहिर चर्चा भएजस्तो गठबन्धन भत्किने र सरकार परिवर्तन हुने भने सम्भावना नरहेको बताए । नेता पोखरेलले गठबन्धनको कोर्ष पुरा नभइसकेको बताए ।

माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, नागरिक समाजका अगुवा, शिक्षाविद् लगायतलाई भेटेर विभिन्न विषयमा सल्लाह र परामर्श गर्दा सरकार परिवर्त हुन्छ कि भनेर आत्तिन नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्