Logo

माओवादीलाई कांग्रेस सहमहामन्त्री पाण्डेको जवाफः ‘हामीसँगको गठबन्धन तोड्दा घाटा कसलाई पर्छ ?’



काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले गठबन्धन तोड्दा बढी घाटा स्वयं माओवादीलाई नै हुने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसलगायतका शक्तिहरुको बलमा प्रधानमन्त्री बनेका पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन तोड्ने कुरा गर्नु आफैंका लागि घातक रहेको बताएका हुन् ।

‘त्यो भन्दाखेरी बढी फरक कसलाई पर्छ ? बढी घाटा कसलाई पर्छ ? जो स्वयं प्रधानमन्त्री हुनुहुन्छ, कांग्रेसलगायत दलहरुको बलमा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले त्यसो भन्नुभएको हो भने आफैंलाई घाटा हुने कुरा बोल्नु भएको हो । आत्मघाती कुरा बोल्नु भएको हो,’– उनले भने ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा कांग्रेसले आफूहरुमाथि निरन्तर धोका दिँदैआएको बताएका थिए । प्रचण्डले कांग्रेससँगको सहकार्य पुनर्विचार गर्नपर्ने अवस्था आउनसक्ने भन्दै नेताहरुलाई सचेतसमेत गराएका थिए ।

नेता पाण्डेले प्रधानमन्त्री प्रचण्डले पार्टीभित्र उठेका कुराहरुलाई सम्बोधन गर्ने क्रममा रेस्पोन्समात्रै गरेका होलान्् भनेर आफूले .अनुमान गरेको बताए । कांग्रेसले संस्थागत निर्णय गरेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाएको स्मरण गराउँदै उनले आफूहरुले सरकारलाई निरन्तर सहयोग गरिरहेको बताए । कांग्रेसले सरकारले गरेका नराम्रा कामहरुको मात्रै आलोचना गरेको बताए । कांग्रेसकै कारणले गठबन्धन टुट्ने सम्भावना नरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्