काठमाडौं, १ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले अब बैंकहरुको भाग्ने तयारी रहेको आरोप लगाएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारीका तस्करहरु भागिसकेका र अब बैंकका तस्करहरुको भाग्ने पालो रहेको बताएका हुन् ।
आफूले राजेन्द्र लिङ्देन, कमल थापा, केशरबहादुर विष्टका लागि अभियान नचलाएको उनले प्रष्ट पारे । उनले आफूले सर्वहार वर्ग, भूँईमान्छे र पीडितहरुका लागि अभियान चलाएको दाबी गरे ।
‘सर्वहारा वर्ग र भूँईमान्छे, जो उत्पीडित वर्ग छ । मध्यम वर्गका व्यापारी छन्, जसका सम्पत्ति जुटिदैछन् भोलि । जो मान्छे घरबार विहीन हुँदैछन् । हेर्नुस् आज मिटरब्याजीको समस्या । सहकारीमा राखेका पैसा खाएर तस्करहरु भागे, अब बैंकका तस्करहरु पनि भाग्दैछन् । यसले गर्दा मैले सचेत गराएको हो,’– प्रसाईँले भने ।
प्रसाईँले आज आफ्नो अभियानको बार्षिकोत्सव मनाउँदै छन् । उनले काठमाडौंको टुँडिखेलमा वार्षिकोत्सव मनाउन स्वीकृती मागेपनि प्रशासनले भृकुटीमण्डपमा स्वीकृती दिएको छ । आजको कार्यक्रममा ५०औं हजार मानिसको सहभागिता रहने प्रसाईँको दाबी छ ।