Logo

जनयुद्धमा सहभागी सबैलाई एकतावद्ध हुन प्रचण्डको अपिल, आफू नेतृत्व छाड्न पनि तयार



काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा सहभागी सबैलाई एकतावद्ध हुन अपिल गरेका छन् । आज (मंगलबार) २९औं जनयुद्ध दिवसका अवसरमा पार्टीको विधान अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनयुद्धमा सहभागी भएका नेताहरुलाई ढिला नगरी एउटै मोर्चामा एकतावद्ध हुन आग्रह गरेका हुन् । जनयुद्धमा सहभागी भएका माओवादीहरुको एकतामा ढिला भएमा ठूलो क्षति र राजनीतिक परिवर्तनप्रति घाटा हुने प्रचण्डको भनाइ छ ।

‘आजको दिन माओवादी जनयुद्धमा सहभागी सम्पूर्ण नेता, कार्यकर्ताहरुलाई अब ढिलो नगरी हामी एउटै मोर्चामा र एउटै केन्द्रमा एकतावद्ध हुन अपिल गर्न चाहन्छु । ढिलो नगरौं, जति ढिलो गर्यो त्यति ठूलो क्षति र यो राजनीतिक परिवर्तनप्रति त्यतिनै ठूलो घाटा हुनसक्छ । त्यसकारण आउनुस्, बसौं, समीक्षा गरौं,’– उनले भने ।

प्रचण्डले आफू विगतमा भएका कमीकमजोरीहरुको समीक्षा गर्न र खुल्ला मनले आत्मालोचना गर्न तयार रहेको बताए । उनले एक भएर प्रतिवाद गर्दा जनयुद्धका उपलब्धि, जनआन्दोलनको रक्षामात्र या क्रान्तिकारी आन्दोलनका उपलब्धिको रक्षामात्र नभएर समाजवादी क्रान्तिको नयाँ लहर शृष्टि गर्न सकिने बताए ।

जनयुद्धका सहभागी नेता तथा कार्यकर्ताहरुले आफूलाई नेतृत्वको हैसियतमा सहयोग गरेको र स्थापित गर्न सहयोग गरेको उनले स्मरण गरे । आफूले एउटा सानो वक्तव्य निकाल्दा देशै ठप्प हुने वातावरण निर्माण गरेको भन्दै उनले फेरि एक ढिक्का हुन आग्रह गरे । साथै, कोही नेताहरु तर्क र तथ्यसहित आएको खण्डमा आफूलाई नेतृत्वमा बसिरहन कुनै लोभ नरहेको बताए । फेरि मोर्चालाई एकतावद्ध गरी टाउको उठाउन खोजेका प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरु विरुद्ध प्रतिवाद गर्न उनले आग्रह गरे ।

‘तपाईँ जहाँ भएपनि माओवादी जनयुद्धका सहयात्रीहरु मलाई नेतृत्वको हैसियतले सहयोग गर्नुभयो । मलाई स्थापित गर्न मद्धत गर्नुभयो । प्रचण्डको एउटा सानो वक्तव्यले देशै ठप्प हुने स्थिति बनाउन तपाईँहरुको योगदान छ । मैले यो जीवनको उत्तरार्धमा पनि फेरि नयाँ क्रान्तितिर देशलाई लिएर जाने संकल्प गरेको छु । कोही कमरेडहरु आउनुहुन्छ र तर्कसहित र तथ्यसहित भन्नुहुन्छ भने मलाई नेतृत्वमा बसिराख्ने कुनै लोभ पनि छैन,’– उनले भने ।

माओवादी जनयुद्धको औचपरिक थालनी २०५२ फागुन १ गतेदेखि भएको थियो । जनयुद्धमा अहम भूमिका निर्वाह गरेका र प्रचण्डलाई स्थापित गर्न लागिपरेका नेताहरु डा. बाबुराम भट्टराई, नेक्रविक्रम चन्द ‘विप्लव’, मोहन वैद्य ‘किरण’, रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरु अहिले प्रचण्डको साथमा छैनन् । माओवादी जनयुद्धका सहयात्रीहरु टुक्रा–टुक्रामा विभाजित हुँदा प्रचण्ड नेतृत्वमा माओवादी केन्द्र अहिले संसद्मा ३२ सिटमा खुम्चिएको छ ।



प्रतिक्रिया दिनुहोस्