Logo

संघीयताको संंरचना राज्यले धान्न सक्दैन, पुनर्विचार गर्नुपर्छः कांग्रेस नेता घिमिरे



काठमाडौं, २ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्याम घिमिरेले संघीयताबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सात सय ६१ वटा सरकार देशको अर्थतन्त्रले धान्न नसक्ने बताएका हुन् । अर्थ मन्त्रालयले बजेटको सिलिङ आधा घट्ने सम्भावना छ भनेर पालिकाहरु र प्रदेशलाई सूचना पठाइसकेको उनले बताए ।

‘यो सात सय ६१ वटा सरकार हामीले जुन बनायौं, यो देशको अर्थतन्त्रले यसलाई धान्दैन । अब अहिले सबै अनुदानहरु कटौती हुँदैछन् । अर्थमन्त्रालयले सूचना पठाइसक्यो । बजेटको सिलिङ आधा घट्ने सम्भावना छ भनेर पालिकाहरु र प्रदेशलाई सूचना पठाइसक्यो,’– उनले भने ।

साथै, समानुपातिक प्रणाली रहेसम्म मुलुकमा स्थिर सरकार नबन्ने उनको दाबी छ । उनले धर्म निरपेक्षता र गणतन्त्रबारे कांग्रेस अडिग रहेको बताए ।

कांग्रेस विस्तार अराजकताको भीडतर्फ अगाडि बढिरहेको उनको टिप्पणी छ । कांग्रेस सच्चिन आवश्यक रहेको बताउँदै उनले आगामी महासमिति बैठकमा यसबारे गम्भीर छलफल हुने बताए ।



प्रतिक्रिया दिनुहोस्