Logo

कांग्रेस महासमिति बैठक: मूल गेटमा बीपी र देउवाको फोटो राख्ने, सदस्यहरूलाई जान-आउन निःशूल्क बस संचालन हुने



काठमाडौं,२ फागुन । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकको तयारी पूरा भएको छ । पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी बैठकको तयारी पूरा भएको जानकारी दिए ।

‘राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता ! स्वतन्त्रता, न्याय र समानता !1 नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने मूल नारा सहित नेपाली कांग्रेसको महासमिति बैठक यही फागुन ७ देखि १० गतेसम्म लालितपुरको गोदावरीमा बस्दैछ ।

कांग्रेसको चौधौ महाधिवेशनमा विधान पारित गरि नेतृत्व चयन गरिएको थियो । तत्कालिन अवस्थामा समयाभावका कारण नीति प्रस्तावमा छलफल भएन । नीतिगत प्रस्तावमा छलफल गर्न छुट्टै नीति अधिवेशन गर्ने र नेतृत्व चयन बाहेक महाधिवेशनले गर्ने सबै कार्य महासमितिले गर्न सक्ने वैधानिक प्रावधान अनुसार यो महासमितिको बैठक आयोजना गरिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

नेपालको पहिलो राजनैतिक दल नेपाली कांग्रेसले तय गरेको आर्थिक सामाजिक तथा राजनीतिक मार्गमा नै आजको नेपालको राजनीति विकसित हुदै आएको उनको दाबी छ

‘जनआकांक्षा अनुरुप भएका सबै राजनीतिक परिवर्तनका आन्दोलनहरुमा सबै दललाई एकतृत गर्ने कांग्रेसले संविधान निर्माण र यसको संरक्षण र व्यवहारिक कार्यान्वयनमा पनि सहकार्यलाई उत्तिकै महत्व दिँदै आएको छ । आजको विद्यमान राजनैतिक परिस्थितिमा पनि ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्न र त्यसैको जगमा उभिएर जनतामा सूशासन र समृद्धिका अनुभूति दिलाउन दलहरूका बीच नेपाली कांग्रेस सबै संग सहमति र सहकार्यकै बाटोबाट मुलुकका सबै समस्याहरूको निकास खोज्ने र दिगो शान्ति स्थापना गर्दै विकासको यात्रालाई गति दिन प्रयत्नशील रहेको छ’ पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा विश्वकर्माले भने ।

नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा कांग्रेसले ५६ पृष्ठको प्रस्ताव पेश गर्ने भएको छ । ‘आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेश हुनेछ,’ प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने।

महासमितिको बैठक तयारी सम्बन्धमा कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरु समेत रहने गरि मूल आयोजक समिति गठन गरेको थियो ।

त्यस्तै महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन उक्त समितिमा केन्द्रीय पदाधिकारीहरु र पार्टी प्रवक्ता रहेका छन् ।

महासमितिको बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले र समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नेछन् । महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउनकांग्रेसले विभिन्न उपसमितिहरु गठन गरी संयोजकहरु तोकिको थियो ।

त्यस्तै महासमिति सदस्यहरू बस्ने मुख्य स्थानहरूबाट कार्यक्रम स्थल सम्म जान आउन निःशूल्क बस सेवा संचालन गरिने भएको छ ।

कांग्रेसको बैठक आवधिभर विहानको चिया नास्ता, खाना र दिउँसोको खाजा कार्यक्रस्थलमै उपलब्ध हुनेछ भने बेलुकाको खाना र आवास सहभागी आफैले व्यवस्था गर्नुपर्नेछ । जसको सहजीकरण केन्द्रीय सदस्य मदन अमात्य संयोजक रहेको आवास उपसमितिले गर्ने छ।

फागन ७ गते उद्घाटनको दिन विहान ९ वजे देखि कार्यक्रमस्थलमा रक्तदान कार्यक्रम हुने कांग्रेसले जनाएको छ। कार्यक्रम अवधीभर ७ देखि १० गते सम्म स्वास्थ शिवीर रहने भएको छ ।

सचना, संचार तथा प्रचार विभागले उत्पादन गरेका सामग्री विक्रि तथा वितरण केन्द्र राख्ने पनि कांग्रेसले जनाएको छ । । नेपाली कांग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्र्दभिक विषयका पुस्तक विक्रि वितरण कक्ष राख्ने नेता विश्वकर्माले जानकारी दिए ।

महासमितिको वैठक हल वाहिर विभिन्न चमेनास्थलहरुको व्यवस्था गरिने भएको छ।
महासमितिको बैठकलाई थप प्रभावकारी बनाउन प्रचार प्रसारलाई विशेष महत्व दिइएको कांग्रेसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot