Logo

विश्व सामाजिक मञ्चको १६औं संस्करणको सम्पूर्ण तयारी पूरा



काठमाडौं, २ माघ । ‘अर्को विश्व सम्भव छ” भन्ने नाराका साथ फागुन ३ देखि ७ गतेसम्म नेपालमा पहिलो पटक हुन लागिरहेको विश्व सामाजिक मञ्चको १६औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । कार्यक्रमको उद्घाटन समारोह भोलि (फेब्रुवरी १५) मा काठमाडौंको भृकुटिमण्डपमा हुने बताइएको छ ।

विश्व सामाजिक मञ्चले नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाती, छुवाछुत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषकाविरुद्धमा एकजुट भएर गरिने विश्वभरका सामाजिक आन्दोलन र नागरिक सङ्गठनहरुको सामूहिक शक्तिलाई एकत्रित गर्दै परिचालन गर्ने काम गर्दै आएको छ ।

नेपालमा हुने यस सम्मेलनले अहिलेको विश्व व्यवस्थाले अङ्गिकार गरेका नीति र संरचनाहरुले सृजना गरेका नकारात्मक प्रभावबारेमा आलोचनात्मक वहस गर्दै वैकल्पिक सोच र विचारहरु निर्माण गर्न र नयाँ विश्व व्यवस्था र तदअनुरुपका नीति–संरचनाहरु निर्माण गर्न विश्वव्यापी रुपमा दवाव सृजना गर्ने अपेक्षा गरिएको आयोजकले बताएका छन् ।

सम्मेलनमा १३ वटा मूल विधामा आधारित भएर ठूला साना गरी ४०२ वटा कार्यक्रम दर्ता भएको बताइएको छ । कार्यक्रममा ४० देखि ५० हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।

हरेक दिन कार्यक्रमहरू विषयगत प्लेनरीबाट सुरु हुने र समानान्तर सत्रहरू, सभा सम्मेलन हुने बताइएको छ । मञ्चमा दर्ता भएका मुख्य कार्यक्रमहरुमा विभिन्न आन्दोलनहरुले आ–आफ्ना सवालहरुमा विमर्श गर्ने बताइएको छ ।

मजदुर आन्दोलनले उचित ज्याला, कामदारको अधिकार, आधुनिक दासता, आप्रवासनजस्ता विषयहरु उठाउने, किसान र कृषि आन्दोलनले भूमि अधिकार, दिगो कृषि, खाद्य सुरक्षा, स्वच्छ व्यापारका सवालहरु उठाउँदै कृषि क्षेत्रमा देखिएका शोषण, असमानता जस्ता चुनौतिहरुमा वहस गर्ने बताइएको छ । विश्वव्यापी जलवायु न्याय मञ्च, विश्व आदीवासी जनजाती मञ्च, महिलावादी आन्दोलनलगायत विभिन्न समूहहरुले कार्यक्रममा भाग लिनेछन् । Photo By: Arun Karki/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्