काठमाडौं, २ माघ । नेकपा (माओवादी केन्द्र) को प्रथम विधान महाधिवेशन जारी छ । हिजो (फागुन १ गते) २९औं जनयुद्ध दिवसको अवसर पारेर माओवादीले विधान महाधिवेशनको उद्घाटन गरेको थियो ।
महाधिवेशनमा विभिन्न २० वटा समूह बनाएर छलफल भएको छ । यसरी छलफल भएका २० वटा समूहमध्ये १३ वटा समूहले सुझाव पेश गरिसकेका छन् । बाँकी सात वटा समूहले भोलि सुझाव पेश गर्ने बताइएको छ । बैठक भोलि बिहान ११ बजे पुनःबस्नेछ ।
यसरी विभिन्न समूहहरुबाट आएको सुझावमा प्रचण्डले तत्काल प्रधानमन्त्री पद त्यागेर वामपन्थि एकताको बाटोतर्फ लाग्नुपर्ने, माओवादीको चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने, पार्टीका सबै संरचनाहरु प्रत्यक्ष निर्वाचित गराउनुपर्ने, केन्द्रीय कमिटीको संख्या घटाएर छरितो बनाउन पर्ने, वर्ग शत्रु किटान नगरी जोसँग पायो उहीसँग चुनावी तालमेल र गठबन्धन गर्न नहुने लगायतका सुझावहरु पेश भएका छन् ।
सुझाव पेस गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधिहरु पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने सुझाव दिए । उनले पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्नेमा जोड दिए ।
सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको उल्लेख गर्दै सङ्गठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्ने बताए । उनले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्टरुपमा तोकिनुपर्ने सुझाव रहेको उल्लेख गरे ।
युवराज चौलागाईंले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेस गर्दै पार्टीको स्थायी समिति सदस्य विधानमा उल्लेख गर्न नपर्ने बताए । उनले पार्टीभित्र मात्र नभई सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्ने सुझाव पेस गरे ।