काठमाडौं, २ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयको उपकूलपति छनोटमा मेरिटोक्रेसी लगाइन्छ भनेर खोकेपनि योग्यजतिलाई छाटेको आरोप लगाएका छन् । आज (बुधबार) पार्टी निकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले मेरिटोक्रेसीको कुरा गरेपनि अन्ततः त्रिवीको उपकूलपछि छनोटको सर्ट लिस्टमा गठबन्धनका आसेपासेहरु, वरपर बस्नेहरु, अयोग्य सावित भइसकेका मानिसहरुलाई मात्रै राखेको बताए ।
प्रधानमन्त्रीजीले अस्तिनै दुई÷चारपल्टै खोक्नुभयो । गजबसँग खोक्नुभयो । खोकेको भन्छन् क्या त्यसलाई । ख्वाङख्वाङ खोकेको होईन कि कुराले खोकेको नि । अब विश्वविद्यालयहरुमा मेरिटोक्रेसी लगाइन्छ, दलीय आधारमा हुँदैन भनेर । अहिले जुन सर्टलिष्ट उहाँहरुले बनाउनु भएको छ, योग्यजतिलाई छाट्नुभएको छ ।’ उनले भने, ‘गठबन्धनका आसेपासेहरु, वरपर बस्नेहरु, अयोग्य सावित भइसकेकाहरु, नचाहिने काम गरेकाहरुको सर्टलिष्टङ गरेर उहाँको मेरिटोक्रेसी पहिले नै देखियो । गठबन्धनको पक्षमा हुनुपर्ने भन्ने देखिइसकियो । छानिएका मान्छेलाई मैले केही भन्नु छैन । उनीहरु त्यसैगरी खाइ आएका हुन् । नयाँ मान्छे कोही जन्मिएकै छैनजस्तो ।’