Logo

यो हार हाम्रो लागि अवसर हो, यसले सिक्न र अघि बढ्न सिकाउँछ: देसाई



काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार ब्यहोरेपछि नेपाली टिमका मूख्य प्रशिक्षक मोन्टी देशाईले आजको हार आफूहरुका लागि ठूलो सिकाई हुने बताएका छन् ।

बिहीबार नामिबियाविरुद्धको खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै देशाईले आजको हारबाट टिमले धेरै कुरा सिक्नुपर्ने बताए।

‘यो हार हाम्रो लागि अवसर हो। यसले सिक्न र अघि बढ्न सिकाउँछ। हार्दा पनि हामीले आफ्नो भावना कसरी नियन्त्रण गर्छौं भन्ने महत्वपूर्ण हुन्छ,’ देसाईले भने।

नेपालले त्रिवि मैदानमा पछिल्ला १५ ओडीआई खेलमा लगातार जित निकालिरहेको थियो । आजको हारसँगै नेपालको १५ औं ओडीआई जितको यात्रा टुंगिएको छ । २०२२ नोभेम्बरमा युएई तीन खेलको सिरिज खेल्न नेपाल आएको थियो । नेपाल पहिलो खेलमा पराजित भए पनि त्यसपछि लगातार दुई खेल जितेको थियो ।

यसैबीच नेपाली टिमको मुख्य प्रशिक्षक बनेर मोन्टी नेपाल आएपछि त्रिवि मैदानमा एकदिवसीय खेलमा नेपालले ब्यहोरेको यो नै पहिलो हार हो । युएईसँगको २०२२ नोभेम्बर सिरिजमा मोन्टी नेपालको प्रशिक्षक थिएनन् । अन्य सबै जितमा मोन्टी नेपालको मुख्य प्रशिक्षक थिए ।

एक वर्षअघि नामिबियाकै खेलबाट नेपालले मोन्टि देशाइको प्रशिक्षणमा लिग-२ को यात्रा सुरु गरेको थियो । लिग-२ अन्तिम १२ खेलमध्य ८ खेल घरेलु मैदानमा खेलेको नेपालले सबै खेल जितेको थियो । त्यसबेला फेब्रुअरीको सिरिजमा नामिबिया र स्कटल्यान्डलाई २-२ खेल जितेको नेपालले यूएई भ्रमणमा पनि ४ मध्य ३ खेल जितेको थियो ।

मार्चमा भएको लिग-२ को अन्तिम सिरिज घरेलु मैदानमा खेलेको नेपालले त्यसमा पनि लगातार ४ जित निकाल्यो । समग्रमा घरेलु मैदानमा लिग-२ को ८ ओडीआई जितेको नेपालले त्यसपछि प्रिमियर कपमा पनि दुई ओडीआई जितेको थियो ।



प्रतिक्रिया दिनुहोस्