Logo

नामिबियासँगको हारपछि रोहित: टप अर्डरका ब्याट्सम्यानले जिम्मेवारी लिन सकेनन्



काठमाडौं,३ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले माथिल्लो क्रमका ब्याट्सम्यानहरुले जिम्मेवारी लिन नसक्दा नामिबियासँग हार भोग्नुपरेको बताएका छन् ।

‘नामिबियाका बलरहरुले कण्डिसनलाई राम्रोसँग प्रयोग गरे’ खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो टप अर्डरका ४-५ ब्याट्सम्यानले जिम्मेवारी लिएन ।’ चौथो नम्बरमा ब्याटिङ्गमा आएका रोहित १ रन बनाएर आउट भएका थिए ।

आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाल आज नामिबियासँग ४ विकेटले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १३२ रनमै अलआउट भयो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन जोडे भने गुल्सन झाले २१, करण केसीले १६ र कुशल मल्लले १५ रन थपेका थिए । कप्तान रोहित आफै १ रनमा आउट हुँदा ओपनर कुशल भुर्तेल पहिलो बलमै डकआउट भएका थिए ।

नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले १०१ बल बाँकीछँदै ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए भने कप्तान रोहितले १ विकेट लिएपनि त्यो जितका लागि प्रर्याप्त भएन ।

नेपालले त्रिवि मैदानमा पछिल्ला १५ ओडीआई खेलमा लगातार जित निकालिरहेको थियो । आजको हारसँगै नेपालको १५ औं ओडीआई जितको यात्रा टुंगिएको छ । २०२२ नोभेम्बरमा युएई तीन खेलको सिरिज खेल्न नेपाल आएको थियो । नेपाल पहिलो खेलमा पराजित भए पनि त्यसपछि लगातार दुई खेल जितेको थियो ।

यसैबीच नेपाली टिमको मुख्य प्रशिक्षक बनेर मोन्टी नेपाल आएपछि त्रिवि मैदानमा एकदिवसीय खेलमा नेपालले ब्यहोरेको यो नै पहिलो हार हो । युएईसँगको २०२२ नोभेम्बर सिरिजमा मोन्टी नेपालको प्रशिक्षक थिएनन् । अन्य सबै जितमा मोन्टी नेपालको मुख्य प्रशिक्षक थिए ।

एक वर्षअघि नामिबियाकै खेलबाट नेपालले मोन्टि देशाइको प्रशिक्षणमा लिग-२ को यात्रा सुरु गरेको थियो । लिग-२ अन्तिम १२ खेलमध्य ८ खेल घरेलु मैदानमा खेलेको नेपालले सबै खेल जितेको थियो । त्यसबेला फेब्रुअरीको सिरिजमा नामिबिया र स्कटल्यान्डलाई २-२ खेल जितेको नेपालले यूएई भ्रमणमा पनि ४ मध्य ३ खेल जितेको थियो ।

मार्चमा भएको लिग-२ को अन्तिम सिरिज घरेलु मैदानमा खेलेको नेपालले त्यसमा पनि लगातार ४ जित निकाल्यो । समग्रमा घरेलु मैदानमा लिग-२ को ८ ओडीआई जितेको नेपालले त्यसपछि प्रिमियर कपमा पनि दुई ओडीआई जितेको थियो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot