Logo

माओवादीमा एकसेएक नेता हुनुहुन्छ, तर अहिले प्रचण्डको विकल्प छैनः मन्त्री किराती



काठमाडौं, ४ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेतृत्वमा अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता, शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको व्यक्तिको हिसाबले अहिले नै प्रचण्डको विकल्प नरहेको बताएका हुन् ।

साथै, माओवादी अब प्रत्यक्ष निर्वाचन प्रणालीमा गएको उनको दाबी छ । लिडरसिप रातारात नजन्मने दाबी गर्दै उनले अहिले प्रचण्डले मात्रै माओवादीको नेतृत्व गर्न सक्ने उनको दाबी छ । नेतृत्व लिन धेरै नेताहरु तयारी अवस्थामा रहेपनि अहिलेका लागि उपयुक्त पात्र प्रचण्डनै भएको उनको दाबी छ ।

‘यसपालिको अधिवेशनले सबै पदहरु प्रत्यक्ष निर्वाचन प्रणालीबाटै गर्ने, कमिटी प्रत्यक्ष निर्वाचन प्रणालीबाट गएपछि कमिटीले फेरि पदाधिकारी चुन्ने भनेपछि यो प्रत्यक्ष नै हो । लिडरसिपको कुरा जहाँसम्म छ, लिडरसिप भनेको खोलाची कुरा पनि होईन । माओवादी पार्टीको मात्रै होईन, संसारमै हामी उदाहरणहरु देख्नसक्छौं । लिडरसिप भनेको रातारात जन्मने कुरा पनि होईन । माओवादीको लिडरसिप विकासको शृङ्खला टुटफुट र विभाजनले केही न केही धक्का लाग्यो,’– उनले भने ।

साथै, सत्तारुढ गठबन्धन एकदमै सौहार्दपूर्ण वातावरणमा अगाडि बढिरहेको उनको दाबी छ । उनले कोशी प्रदेशका कारणले संघीय राजनीतिमा र अन्य प्रदेशमा फेरबदल नआउने बताए । गठबन्धन फुटाउने भन्दा पनि अब राष्ट्रिय सहमतिको सरकारतिर अगाडि बढ्नुपर्ने उनको दाबी छ । राजनीतिक स्थायित्व र जनतालाई डेलिभरी दिन राष्ट्रिय सहमतिको सरकार अपरिहार्य भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot