Logo

आफ्नो कार्यकक्षमा आफैं सरसफाई गर्दै मन्त्री किराती (भिडिओसहित)



काठमाडौं, ४ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफ्नै गतिविधिका कारण बेला–बेलामा चर्चा र विवादमा आइरहने मन्त्रीमा पर्छन् । उनको चडपर्व मनाउनेदेखि लिएर गाउँघरमा भएर आफ्ना मतदाताहरुलाई भेट्ने आफ्नै शैली छ । मन्त्री किरातीले यस वर्षको दशैं चौरी गोठमा पुगेर गोठालाहरुसँग मनाएका थिए । त्यस्तै तिहार मनाउन उनी चितवनको चेपाङ बस्तीमा पुगे । त्यस्तै, जनताको घरमा पुगेर जनयुद्धका स्मरण गर्ने, आफूहरुलाई त्यस समयमा गरेको सहयोगप्रति धन्यवाद दिने लगायतका गतिविधि उनले सामाजिक सञ्जालमा अपलोड गर्ने गर्छन् ।

मन्त्री किरातीका यस्ता प्रकारका गतिविधिलाई कतिपयले स्ट्रन्टबाजीको रुपमा चित्रण गर्ने गरेका छन् । कतिपयले भने सादगी र जनताको भावना र मर्म बुझेका नेताको रुपमा लिने गरेका छन् । पछिल्लो समय उनले आफ्नो कार्यकक्षमा आफैंले सरसफाइ गरिरहेको भिडिओ सार्वजनिक भएको छ ।

आफ्नो कार्यक्रमक्ष सरसफाइका क्रममा ‘फूलको आँखामा फूलै संसार’ गीतको धुन बजिरहेको सुन्न सकिन्छ । साथै, कार्यलय सहयोगी एक महिलासँग उनले कुराकानी गरेको सुन्न सकिन्छ । मन्त्री किरातीले ती महिला कर्मचारीलाई आफूहरु छिटो कार्यालय आउँदा समस्या परेको हो ?, पहिला कतिबजे आउनुहुन्थ्यो ? लगायतका प्रश्न गर्छन् । उनले देशको लागि काम गरेको भनेर सम्झन र दुःख नमान्न ती महिला कर्मचारीलाई आग्रह गर्छन् । साथै, मन्त्री किरातीले ती महिला कर्मचारीसँग केही घरायसी कुराहरु सोधेका छन् ।



प्रतिक्रिया दिनुहोस्