Logo

‘गठबन्धनका कारण कांग्रेस ठूलो पार्टी बन्यो तर,एक्लै चुनाव लड्दा जस्तो विजयको उत्साह नआउने रहेछ’



काठमाडौं,४ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको कारण पार्टीले चुनावमा धेरै सिट जितेपनि कार्यकर्तामा उत्साह गुमेको बताएका छन् ।

पार्टीको आसन्न महासमिति बैठकका लागि सांगठनिक प्रतिवेदन तयार पारेका थापाले आफ्नो प्रतिवेदनमा एक्लै चुनाव लड्दाजस्तो विजयको भाव नझल्किने जिकिर गरेका छन् ।

तात्कालिक सरकारले पटक पटक असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन गरेपछि एउटा विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नु परेको उनले भनाइ छ।

‘त्यसकै निरन्तरता स्वरुप पार्टीले लोकतन्त्र र संविधानको रक्षार्थ र स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय गर्यो। निर्वाचनमा अंकगणितका हिसाबले कांग्रेस ठूलो पार्टी त बन्यो तर पार्टी एक्लै चुनाव लड्दा जस्तो कार्यकर्तामा विजयको भाव र उत्साह भने नआउने रहेछ’ उनले भनेका छन् ।

थापाले गठबन्धनका कारण तिनै तहको निर्वाचनमा कतिपय स्थानमा आफ्नो आस्था प्रकट गर्ने रुख चिन्ह नै नहुँदा कांग्रेसजनले आज पर्यन्त आफ्नो असन्तुष्टि व्यक्त गरिरहेको दाबी गरेका छन् ।

‘संघ र प्रदेशको निर्वाचनको तथ्याङ्क हेर्दा गठबन्धनका कारण ७४ प्रतिनिधिसभा क्षेत्रमा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई मत राख्न पाएनन् भने २१ वटा संघीय क्षेत्रका एउटा पनि प्रदेश क्षेत्रमा आफ्नो पार्टीलाई प्रत्यक्ष मत राख्न पाएनन् । ४८ वटा प्रतिनिधिसभा क्षेत्रका प्रत्येक क्षेत्रका २ प्रदेश सभा क्षेत्रमध्ये एउटामा मात्रै हाम्रा उम्मेदवार थिए अर्थात ४८ वटा प्रदेशसभा क्षेत्रमा कांग्रेसका प्रत्यक्षतर्फ उम्मेदवार नै थिएनन्। समग्रमा ६२ प्रदेश सभा क्षेत्रका मतदाताले प्रतिनिधिसभा र प्रदेशसभामा हाम्रो निर्वाचन चिन्ह रुखमा मत राख्न पाएनन् । त्यस्तै १७ वटा क्षेत्रमा दुवै प्रदेशसभामा त कांग्रेसले रुखमा मत राख्न पाए तर प्रतिनिधिसभामा पाएनन्। यसरी एकातर्फ कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चिन्हमा मत हाल्न पाएनन् नै अर्को तर्फ अन्य दलको निर्वाचन चिन्ह र झण्डा बोकेर मत माग्न हिड्नुपर्ने बाध्यात्मक अवस्थामा हामीले पुग्यौैं’ उनले भनेका छन् ।

महामन्त्री थापाले सबै ठाउँमा आफ्ना उम्मेदवार नहुँदा कांग्रेसको लोकप्रिय मत घटेको पनि जिकिर गरेका छन् । ‘पार्टी पहिलो भए पनि लोकप्रिय मत घट्यो। २०७४ को चुनावबाट २०७९ को चुनावसम्म आइपुग्दा प्रतिनिधि सभा चुनावमा हाम्रो लोकप्रिय मतको हिस्सामा ७ प्रतिशतले ह्वास आएको छ। दुई चुनावको बीचमा हामीले १३।२ प्रतिशत त मतदाता नै गुमायौं,’ महामन्त्री थापाको प्रस्तावमा उल्लेख छ, ‘यही कुरा सात प्रदेश सभा चुनावको मतका आधारमा हेर्ने हो भने हाम्रो लोकप्रिय मतको हिस्सा कायम राख्न चाहिने मतभन्दा १५।७४ प्रतिशत कम मत पाएका छौं।’

संघ, प्रदेश र बहुसंख्यक स्थानीय सरकारमा कांग्रेस भए पनि कार्यकर्ताले पार्टी सरकारमा भएको महसुस नगरेको सांगठनिक प्रस्तावमा उल्लेख छ।

‘सरकारका नीति, प्राथमिकता र कार्यक्रमसँग पार्टी जोडिएको अनुभूत गर्न सकेको छैन। यस्तो अवस्थामा जताततै पार्टीभित्र एकखालको अलमल छ( हामीले सरकारको प्रतिरक्षा गर्ने कि प्रश्न१’ महमन्त्री थापाले भनेका छन्।

पार्टीभित्र गुट हाबी भएकोले इमान्दारितापूर्वक संगठनमा लागेका सदस्यलाई निरूत्साहित र व्याकुल बनाएको उनले उल्लेख गरेका छन्।



प्रतिक्रिया दिनुहोस्