काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दलहरुप्रति लक्षित गर्दै तत्काल बिक्नु र लामो समय टिक्नुको बीचमा फरक हुने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा पेश भएको महामन्त्री शर्माको राजनीतिक प्रस्तावमा नागरिक पंक्तिमा असन्तुष्टि बढेको र त्यस्तो असन्तुष्टिमा संयम, प्रेम, विश्वास, संघर्ष, त्याग र आदर्श भन्दा सस्तो नारा, आवेग र ‘स्टन्टवाद’ चल्ने र बिक्ने उनले उल्लेख गरेका छन् ।
‘विश्वव्यापी रुपमै के देखिएको छ भने जहाँ नागरिक पंक्तिमा असन्तुष्टि छ । त्यहाँ संयम, प्रेम, विश्वास, संघर्ष, त्याग र आदर्श भन्दा सस्तो नारा, आवेग र ‘स्टन्टवाद’ चल्छ र बिक्छ । तर तत्काल बिक्नु र लामो समय टिक्नुको बीचमा फरक हुन्छ,’– उनले भनेका छन् ।
दुरदर्शी भिजन र कमाण्ड भएको नेतृत्वले संयमतापूर्वक स्थितिलाई सम्हाल्ने कर्तव्य निभाउन सक्ने उनले उल्लेख गरेका छन् । अहिले समाज र राजनीतिमा देखिएको चित्रले आफूहरुलाई घच्घच्याएको र समाजले परिवक्व हल खोजेको उनको निश्कर्ष छ । संघर्ष, आदर्श, अनुभव र जिम्मेवारपूर्ण शैलीमै समाजले आफ्नो भविष्य देख्ने उनको बुझाइ छ ।