काठमाडौं, ४ फागुन । दुई जना युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा घटेको घटनाका बारेमा छानविन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आज (शुक्रबार) आयोगले छानविन सकेर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले आयोगले मेहनतपूर्वक तयारगरेको प्रतिवेदन कार्यान्वयन गरिने प्रतिवद्धता जाहेर गरे । ईपीएस कोरिया भाषा परीक्षा विवादका क्रममा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।
उक्त घटनाको छानविनका लागि सरकारले गत पुस १६ गते उच्च अदालतका पूर्व न्यायायधीश शेखर पौडेलको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले ४४ दिन लगाएर अनुसन्धानपछि सरकारलाई प्रतिवेदन बुझाएको हो ।
आयोगले उक्त घटनाको छानविनका क्रममा घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिससहित २९ जनाको बयान कागजका आधारमा अनुसन्धान गरेको थियो ।
कोरिया भाषा परीक्षा विवादमा प्रदर्शनरत प्रदर्शनकारीहरुको समूह भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सोहीबाट आएपछि झनै आक्रमक बनेको थियो । उनीहरुले मन्त्री ज्वालाको गाडीसमेत जलाएका थिए । उक्त घटनालाई लिएर मन्त्री ज्वालाको व्यापक आलोचना समेत भएको थियो । जाँचबुझ आयोगले अनुसन्धानका क्रममा मन्त्री ज्वालाको समेत बयान लिएको छ ।