काठमाडौं, ५ फागुन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आफूहरुले सरकारलाई सहयोग गरिराखेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब प्रधानमन्त्रीले पफर्मेन्स राम्रो नभएका मन्त्रीहरुलाई हटाएर राम्रा मान्छेलाई ल्याउन पर्ने बताए ।
‘जुन मन्त्रीहरुको पफर्मेन्स राम्रो छैन ती मन्त्रीहरुलाई परिवर्तन गर्ने । पफर्मेन्स भएका मानिसहरुलाई ल्याउने । काम कति भयो भएन भन्ने कुरा सरकारले जवाफदेही हुनुपर्छ । मन्त्रीको कार्यकुशलता छैन भनेर राखेर के गर्ने,’– उनले भने ।
अहिले तत्कालै प्रधानमन्त्री परिवर्तन गरिहाल्नुपर्ने परिस्थिति नरहेको बताउँदै उनले प्रधानमन्त्रीले नै काम गर्न नसक्ने र जनतामाझ डेलिभरी दिन नसक्ने मन्त्री परिवर्तन गर्नुपर्ने बताएका हुन् । गठबन्धन बनाउने र भत्काउने गरेरमात्रै समस्याको समाधान ननिस्कने उनको भनाइ छ ।
काम गर्ने मन्त्रीलाई पुरस्कृत गरेर र जनतामा प्रभावकारी ढंगले प्रस्तुत भएका, काम गर्न नसक्ने र डेलिभरी दिन नसकेको मन्त्रीहरुलाई परिवर्तन गर्न उनले आग्रह गरे । आफूहरुले सहयोग गर्दागर्दै पनि सरकार अल्मलिएको भन्दै उनले क्लियर रुपमा जनपक्षीय कार्यक्रम लिएर अगाडि बढ्न आग्रह गरे ।