Logo

नैतिकता भए मन्त्री ज्वालाले राजीनामा दिनुपर्छः कांग्रेस नेता भण्डारी



काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले बालकुमारी घटनामा मुख्य दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नैतिकता भए राजीनामा दिनुपर्ने बताएका हुन् ।

मुलुक चलाउने मान्छे स्वच्छ र इमानदार हुनुपर्ने उनको भनाइ छ । अमेरिकाका पूर्वराष्ट्रपति र हंगेरीका राष्ट्रपतिको उदाहरण दिँदै उनले आरोप लागेर छानविन समितिले समेत दोषी देखाएको खण्डमा राजीनामा दिँदा नै उपयुक्त हुने उनको भनाइ छ । समाज नैतिक रुपले चलोस् भन्ने चाहेपनि नेपालका नेताहरुले आरोप लागेपछि ग्रेड थपिएको महशुुस गर्ने गरेको उनको भनाइ छ ।

‘मैले अस्ती शिक्षा समितिमा पनि भनेको छु– अमेरिकामा रेगन राष्ट्रपति हुँदाखेरी आफूसँग पढेका दुई जना साथीमध्ये एउटालाई न्यायाधीश बनाउन पर्ने भयो । उनले न्यायाधीश बनाए । अर्को साथीले यसले त १० कक्षामा पढ्दा मसित गाँजा खाएको हो भनेपछि न्यायाधीश बनेको मान्छेलाई १० कक्षामा पढ्दा गाँजा खाएवापत उसलाई निकाल्न पर्यो । उनी न्यायाधीश बन्न सकेनन् । आजभन्दा दुई हप्ता अगाडि हंगेरीमा यौन दुराचारको अभियोग लागेपछि त्यो व्यो व्यक्तिलाई छोडिदिएको भनेर हंगेरीको राष्ट्रपतिले राजीनामा दिन पर्यो । हाम्रो समाज नैतिक रुपले चलोस् भन्नका निम्ति हामी लागेका छौं । हामीले आरोप लगाउने वित्तिकै राजीनामा दिने होईन, आरोप लगाएपछि ग्रेड थपिन्छ भन्ने सिस्टम डेभलप भएको छ,’– उनले भने ।

दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको छानविनका लागि गठित शेखर पौडेल नेतृत्वको जाँचबुझ समितिले मुख्य दोषी मन्त्री ज्वाला भएको उल्लेख गरेको छ । साथै, नेकपा (एमाले) सचेतक महेश बर्तौलाले समेत मन्त्री ज्वालाको राजीनामा माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot