काठमाडौं, ६ फागुन । जनमत पार्टीका महासचिव चन्दन सिंहले मधेश प्रदेश सरकारको विश्वसनीयता गुमिसकेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले अब मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने बताए । उनले मधेशको वर्तमान सरकार पूर्णरुपमा फेलियर भइसकेको बताए ।
‘विश्वासको मत उहाँ लिन चाहनुहुन्छ ठीकै छ । हामी सरकारबाट बाहिरिएका छौं, समर्थन फिर्ता लिएका छौं । यो आठ महिनादेखि केही पनि काम नभएको, हाँडीगाऊँको जात्राजस्तै यहाँ भइरहेको छ । फागुनसम्ममा ४ प्रतिशत बजेटमात्र खर्च भएको छ । यस्तो अवस्थामा विकास बजेट त खर्च भएकै छैन । यो सरकार फेलियर हो । यो सरकारलाई विश्वासको मत दिन हुँदैन,’– उनले भने ।
वर्तमान मधेश सरकारको आयु सकिएको उनको दाबी छ । आफूहरुले नयाँ गठबन्धनको प्रयास गरिरहेको र केही समयपछि अर्को सरकार बन्ने उनले बताए । ‘राजनीतिमा गठबन्धन बन्छ । गठबन्धन नबन्ने होईन । गठबन्धन बन्ने प्रक्रिया सुरु छ, चलिरहन्छ,’– उनले भने ।