Logo

सांसदले नयाँ प्रश्न राखेपछि रिसाए प्रधानमन्त्री प्रचण्ड !



काठमाडौं,६ फागुन । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक जारी छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले प्रश्नोत्तर गरिरहेका छन् ।

सांसदहरुले प्रश्नोत्तर कार्यक्रमअन्तर्गत पूर्वनिर्धारित प्रश्नबाहेक थप प्रश्न राखेपछि प्रधानमन्त्री प्रचण्डले विधि र प्रक्रियाभन्दा बाहिर गएको भन्दै मर्यादा सम्झाएका छ्न ।

प्रधानमन्त्रीलाई प्रश्न सोध्नेक्रममा संसद्को महिला बालबालिका तथा सामाजिक समितिका सभापतिसमेत रहेका नेकपा एमालेका सांसद किरणकुमार साहले नयाँ प्रश्न राखेका थिए । उनले शनिबार रौतहटको इशनाथ नगरपालिकामा हिन्दू र मुस्लिमबीच भएको झडपपछि कफ्यू जारी भएको थियो । सासंद साहले सोही विषयमा प्रश्न गरेका थिए ।

“एकदम अति नै आवश्यक भएका कारणले अलिक प्रश्न थपे । मेरो क्षेत्रलगायत हिन्दु अल्पसंख्यक रहेको ठाउँहरूमा प्रत्येक चाडपर्वमा अतिवादीहरूद्वारा हिंसक आक्रमण भइरहेको र राज्यले के गर्दैछ ?,” उनले सोधे, “के धर्म निरपेक्षता हिन्दुहरूको समुल विनाशका लागि ल्याएको हो ? हिजैदेखि मेरो क्षेत्रमा कर्फ्यु लागु भइसकेको छ, मुर्ति सेलाउने विषयमा ।”

सांसद साहेल उक्त प्रश्न राखेपछि पूर्वनिर्धारित प्रश्नहरु राखेका थिए । साहको प्रश्नपछि प्रचण्डले विधि र प्रक्रिया बुझ्न आग्रह गरेका हुन् ।

“मान्य किरणकुमार साहले अहिले नै नयाँ प्रश्न थप्नुभयो । सबैले यही आएर प्रश्नमा प्रश्न थप्ने हो भने हाम्रो विधि प्रक्रिया प्रश्नोत्तर कार्यक्रमकै अवस्था के हुन्छ भन्ने मलाई थोरै जिज्ञासा रहेको छ,” प्रधानमन्त्रीले भने, “तैपनि तपाईंले हिन्दुराष्ट्रको बारेमा जे कुरा राख्नुभएको छ । मेरो ध्यानकर्षण भएको छ । त्यसलाई गम्भीररूपमा लिइन्छ नै ।” त्यसपछि उनले निर्धारित प्रश्नको जवाफ दिए ।



प्रतिक्रिया दिनुहोस्