काठमाडौं, ६ फागुन । सम्पूर्ण ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदर संयुक्त संघर्ष समितिले नयाँ ट्याक्सी खरिद गर्दा एकाधिकार (सिण्डिकेट) प्रणालीद्वारा महँगो पर्न गएको बताएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संयुक्त संघर्ष समितिले ट्याक्सी व्यवसायी र स्वरोजगार मजदुरहरुलाई राज्यबाट ट्याक्सीको सट्टाभर्नामा बैंक तथा वित्तीय संस्थाको पुरानो लाखौं ऋण तिर्न नसकिरहेको अबस्थामा नयाँ ट्याक्सी खरिद गर्न झनै महँगो बनाइएको बताएको हो ।
राज्यले अदालतले दिएको परमादेशलाई समेत प्रवाह नगरी महँगो सवारी मात्र खरिद गर्नुपर्ने बाध्यकारी अवस्था सृजना गरेको संयुक्त संघर्ष समितिले बताएको छ । संयुक्त संघर्ष समितिले स्वरोजगार मजदुरहरु उक्त सवारी खरिद गर्न नसक्ने र पुरानो ऋणको भारले बाध्य भएर पेशा छोड्दै खाडी मुलकमा पलायन हुने अबस्था आएको बताएको छ ।
स्वरोजगार मजदुरहरुले व्यवसाय गर्न सहज वातावरणको सृजना गराउन र अदालतको परमादेशलाई अक्षरस पालन गराउन चरणबद्ध संघर्षका कार्यक्रम गर्ने संघर्ष समितिले बताएको छ । संघर्ष समितिले सरकारसमक्ष विभिन्न पाँच बुँदे माग राखेको छ । संघर्ष समितिले ट्याक्सी सट्टाभर्नामा सबै कम्पनीका सबै किसिमका गाडी बजार प्रतिस्पर्धा गराई पेट्रोलियम पदार्थ, ग्यास लगायत अन्य वैकल्पिक उर्जाबाट चल्ने सवारी साधनहरु, सहज मुल्यका सवारीसाधन खरिद गर्न पाउनु पर्ने मापदण्ड लागू गर्न सरकारलाई आग्रह गरेको छ ।
त्यस्तै, उच्च अदालत पाटनले ट्याक्सीको राष्ट्रिय मापदण्डको बारेमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को नाममा जारी गरेको परमादेश हुबहु कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकार्षण गरिएको छ । ट्याक्सी सट्टाभर्नामा बजार प्रतिस्पर्धा नगराई लगाईएको एकाधिकार (सिण्डिलेट) लाई तत्काल खारेज गर्नुपर्ने साथै भिएफटीमार्फत ट्याक्सीको आयु तोकिनु उनीहरुको माग छ ।
निजि दुई तथा चार पाङ्गे सवारी साधनहरुले चोक–चोकमा बसेर खुलेआम भाडाको काम गरिरहेको भन्दै संयुक्त संघर्ष समितिले उक्त काय तत्काल बन्द गराउन सरकारलाई आग्रह गरेको छ । अस्थायी बाटो ईजाजत (पटके) अनलाइन वा २४ सैं घण्टा खुल्नेगरी उपत्यकाको सबै नाकाबाट दिनुपर्ने र एम्बोस्ट नम्बर देवनागरी लिपिमा जारी गरिनुपर्ने उनीहरुको माग छ । साथै, प्रशासनिक निकायहरुबाट चालक मजदुरहरुमाथी गरिने अनावश्यक गतिविधि बन्द गरिनुपर्ने समेत उनीहरुले माग राखेका छन् ।
समितिका सह–संयोजक रमेश गदाइली, अखिल नेपाल क्रान्तिकारी मजदुर संघका अध्यक्ष लालबहादुर तामाङ, दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता र र नागरिक बचाउ अभियानका काठमाडौं संयोजक लिखेचन्द्र श्रेष्ठ, ट्याक्सी ब्यवसायी तथा अभिवक्ता भरत घिमिरेलगायतले धारणा राखेका थिए ।