काठमाडौं, ६ फागुन । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले बैंकहरु डुब्दैछन् भन्ने कुरा बेकारको हल्लामात्रै भएको बताएका छन् । अहिले सबैभन्दा बलियो र पारदर्शी संस्था बैंकभन्दा अर्को कुनै नरहेको उनको दाबी छ । पूर्वगभर्नर नेपालले बैंकहरु खतरामा रहेको कुरा राष्ट्र बैंक र सर्वसाधरण समेतलाई थाहा हुने बताए । अहिलेको अवस्था त्यस्तो नरहेको उनको दाबी छ ।
‘यो बेकारको हल्ला हो । अहिले बैंकहरु एकदम स्ट्रोङ छन् । कसैले केही गर्नै सक्दैन । बैंक खतरामा छ भने नेपाल राष्ट्र बैंक, तपाईँ, हामीलाई पनि थाहा हुन्छ । उनीहरुको पेडअप क्यापिटल, इन्भेष्टेन्ट सबै हेरेर सबै थाहा हुन्छ । अहिले नेपालको सबैभन्दा बलियो र पारदर्शी भनेको बैंकिङ क्षेत्रमात्रै हो,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।
पूर्वगभर्नर नेपालले वित्तीय अराजकता फैलाउनेहरुलाई सरकारले कारबाही गर्नुपर्नेमा यस्ता प्रवृतिलाई कारबाही गर्न नसकेको बताए ।
केही दिनअघि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एनआइसी एशिया बैंक डुब्दैछ भनेर वित्तीय भ्रम फैलाए । उनले बैंकबाट पैसा निकालिहाल्न समेत भने । यसरी भ्रम सिर्जना गर्नेलाई सरकारले कारबाही गर्नुपर्ने पूर्वगभर्नर नेपाल बताउँछन् । File Photo/RN