काठमाडौं, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री विरोध खतिवडाले दुई जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको दोषी गोली चलाउनेहरु रहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बचाउ गरेका हुन् ।
दोषी गोली हानेर मार्ने मानिस नै भएको दाबी गर्दै उनले उक्त विषयमा समिति बनाएर छानविन गर्नुको औचित्यतामाथि नै प्रश्न उठाए । ‘गोली हानेर जसले मार्यो ऊ दोषी हो । त्यो पनि खोजिरहन पर्छ ? जसले गोली हानेर मार्यो ऊ दोषी नि । त्यो पनि अनुसन्धान गर्नुपर्छ ?’ उनले प्रश्न गरे ।
साथै, उनले ‘मन्त्री नहिडेको बाटोमा अहिलेसम्म काही गोली चलेको छ कि छैन ?’ भनेर प्रतिप्रश्नसमेत गरे । गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी घट्ना भएको थियो । उक्त घट्नाको सत्यतथ्य छानविन गर्न पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको थियो । उक्त आयोगले घटनाको मुख्य दोषी मन्त्री ज्वाला भएको निश्कर्ष निकालेको छ ।
यसरी, सरकारले गठन गरेको जाँचबुझ आयोगले समेत घटनाको मुख्य दोषी करार गरेको व्यक्तिलाई क्याविनेटमा राखिराखेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समेत आलोचना भइरहेको छ । पूर्वमन्त्री समेत भइसकेका खतिवडाले दुई जना होनाहार युवाको ज्यान गरेको उक्त घटनालाई सामान्य रुपमा लिँदै ‘जसले गोली हानेर मारेको हो उही दोषी हो’ भन्नु गैरजिम्मेवारपूर्ण र लज्जास्पद अभिव्यक्ति हो ।