Logo

कांग्रेस महासमिति बैठक बहिष्कार गर्ने प्रेस युनियनको घोषणा



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनले आजबाट सुरु हुन लागेको नेपाली कांग्रेसको महासमिति बैठक बहिष्कार गर्ने घोषणा गरेको छ ।

युनियन अध्यक्ष शिव लम्सालले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै महासमितिमा संगठनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

उनले प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यकोसमेत ख्याल नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरिएको भन्दै आपत्ति जनाएका छ्न।

‘कांग्रेसको महासमिति बैठकका सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत पर्वाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरिएकोप्रति युनियनको गम्भीर आपत्ति छ । लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप हामीलाई कदापि स्वीकार्य छैन । कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अपव्याख्या गरी गरेको निर्णयले प्रेस युनियन र कांग्रेसबीचको शुभेच्छुक सम्बन्धलाई बिथोल्न चाहनेहरूलाई बल पुगेको छ । यसर्थ निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरी गरिएको निर्णयप्रति घोर भत्सर्ना जनाउँदै यथास्थितिमा नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाल प्रेस युनियनको संस्थागत उपस्थिति नरहने व्यहोरा जानकारी गराउँछौँ । साथै अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र प्रेस युनियनको गरिमामाथि गरिएको प्रहारको यथोचित प्रतिवाद गर्न आह्वान गर्दछौँ’ उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्