काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राजनीतिक परिवर्तन निरङ्कुशतातिर अगाडि बढ्ने खतरा रहेको बताएका छन् । समाजवादी शैक्षिक मञ्च केन्द्रीय तदर्थ समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड अहिले परिवर्तन समाजवादी गणतन्त्रतिर अगाडि बढ्ने हो कि भने निरङ्कुशतातिर जाने हो भन्ने खतरा बढेको बताएका हुन् ।
‘अहिलेको राजनीतिक परिस्थिति या शान्ति प्रक्रियामा प्रवेश गरे यताका राजनीतिक, वैचारिक संघर्षहरु, सबैलाई एकै ठाउँमा राखेर हेर्यो भने हरेक क्षेत्रमा यो परिवर्तन अब समाजवादी गणतन्त्रतिर अगाडि बढ्ने हो कि फेरि निरङ्कुशतातिर, दलालहरुको सम्पूर्ण हैकम कायम भएको, नेपालको राष्ट्रिय स्वाधिनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरातिर जाने हो ? यो लडाईँ सर्वत्र छ भनेर म तपाईँहरुलाई भन्न चाहन्छु,’– प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले निकै ठूलो र तेजिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवाद उन्मुख राज्य हुनेछ भनेर लेख्नसम्म सफल भएको स्मरण गराए । केही मानिसहरुले त्यसलाई स्वीकार गर्न नसकेको बताए । शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषय जनताको मौलिक अधिकारको रुपमा संविधानमा स्थापित गराएको उनले बताए ।
अहिले आफूहरुले सु्शासन, सामाजिक न्याय, समृद्धि हुँदै समाजवादतिरको यात्रा सुरु गर्ने कुरा गरिरहेको बताए । आफूहरु समाजवादको निम्ति वातावरण बनाउन लागि पर्दा अर्को पक्ष भने यो परिवर्तन, संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक ठीक छैन, पुरानै ठाउँमा फर्कनुपर्छ भनेर लागिपरेको उनको दाबी छ ।
साथै, प्रधानमन्त्री प्रचण्डले शिक्षा विधेयक सहमतिमै पारित हुने विश्वास व्यक्त गरे । उनले क्याविनेटबाट पारित भएर सदनमा गएको शिक्षा विधेक बीचमा चलखेल भएको दाबी गरे । क्याविनेटबाट पारित गरेर संसद्मा पठाएको विधेयक बीचमा चलखेल गरेर शिक्षकहरुकै विरुद्धमा बनाइएको उनको भनाइ छ । आफ्नो हक र हितका विरुद्धमा हजारौं शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा उत्रिदा खुसी लागेको उनले बताए ।
‘म विदेशमा भएको बेला यो दर्ताको प्रक्रियामा गयो । तपाईँहरुले जबरजस्त आन्दोलनको वातावरण बनाउनु भयो । हजारौं शिक्षकहरु एकै दिनमा बडो आकश्मिक ढंगले जसरी तपाईँहरु प्रस्तुत हुनुभयो, मलाई भित्रबाट खुसी र गर्व महशुस भयो । शिक्षकहरुले यति छिटो पहल लिएर राज्यमाथि या त्यो प्रवृत्तिमाथि दवाब शृष्टि गर्ने काम गरेकोमा खुसी हुँदै मैले वार्ता र सहमतिका लागि मैले विदेशबाट नै निर्देशन गरेपछि तपाईँहरुसँग वार्ता भयो,’– उनले भने ।