काठमाडौं,७ फागुन । पर्साको वीरगञ्जमा पनि कर्फ्यु आदेश जारी भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आज एक सुचना जारी गर्दै साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी भएको जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको ठाउँमा हिड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुन लगायतका उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाएको छ ।
रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन भएको थियो ।
वीरगञ्जमा भएको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले कर्फ्यू आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।