Logo

कालीमाया-रिना हत्या प्रकरणः न्यायका लागि काठमाडौंमा भौतारिँदै तारामान



काठमाडौं, ७ फागुन । रुकुम (पूर्व) पुथा उत्तरगङ्गा गाउँपालिका–३ का तारामान बुढामगर यतिबेला संघीय राजधानी काठमाडौंमा भौतारिरहेका छन् । उनी आफ्नी निर्दोष नाबालक छोरीहरुको आत्मको शान्तिका लागि ऋण काढेर न्याय खोज्न काठमाडौं आएका हुन् । गत २०७९ चैत २२ गते उनका लागि कालो दिन भयो । तारामानले आफ्नी छोरीहरु ८ वर्षीय कालिमाया बुढामगर र १० वर्षीय रिना बुढामगरलाई गुमाउन पर्यो । कालीमाया र रिनाको विभत्स हत्या भयो ।

कालीमाया र रिनाको हत्या अभियोगमा १३ वर्षीय सुस्मिता बुढामगर र ११ वर्षीय आकांक्षा बुढामगरलाई प्रहरीले नियन्त्रणमा लियो । उनीहरुलाई केरकार गर्यो, सुस्मिता र आकांक्षाले हत्या अभियोग स्वीकार गरे । सुस्मिता र आकांक्षा नाबालिका भएकाले उनीहरुलाई ६ महिना सुधार गृहमा राखेर छाडियो । सुस्मिता र आकांक्षाले सुधार गृहमा रहँदानै घरमा चिठी पठाए । उनीहरुले कालीमाया र रिनाको हत्या आफूहरुले नगरेको ब्यहोरा उल्लेख गर्दै हत्यामा संलग्नहरुको नामसमेत खुलासा गरे । अहिले पनि सुस्मिता र आकांक्षाले आफूहरु निर्दोष रहेको र वास्तविक दोषीहरु कर्मटेक बुढामगर, विक्रम बुढामगर र दयालु बुढामगर भएको बताइरहेका छन् ।

कालीमाया-रिना हत्याकाण्डः वास्तविक दोषीलाई उन्मुक्ति दिएर आकांक्षा र सुस्मितालाई फसाइएको बाबु तारामानको आरोप (भिडिओसहित)

सुस्मिता र आकांक्षाले वास्तविक दोषी भनेका व्यक्तिहरु खुलेआम हिँडिरहेका छन् । तारामानले दिएको किटानी जाहेरी प्रहरीले लिनसमेत मानिरहेको छैन । यस्तो अवस्थामा तारामान मानव अधिकार आयोग र प्रहरी प्रशासनलाई ग्ुहार गर्न काठमाडौं आएका हुन् । तर, अहिलेसम्म उनले दिएको उजुरी न मानव अधिकार आयोगले दर्ता गरेको छ ? न त गृह प्रशासनले ? उनी केही दिनअघि काठमाडौं आएका हुन् । उनी अहिलेसम्म मानव अधिकार आयोग, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतको निकायहरुमा पुगिसके । तर, उनले सबै निकायबाट आश्वासनबाहेक केही पाएका छैनन् ।

कालीमाया–रिना हत्या प्रकरणमा दोषी ठहरिएका दुई नाबालिकामध्ये सुस्मिताका बुबाआमा दुवै बोल्न नसक्ने अशक्त हुन् । उनीहरुको पाँच बहिनीमध्ये सुस्मिता कान्छी हुन् । घरको आर्थिक अवस्था एकदमै दयनीय छ । आकांक्षाको पनि पारिवारिक अवस्था उस्तै रहेको छ । बाबुआमाको साथमै रहेपनि आकांक्षाको परिवार पनि चरम गरिबीमा गुज्रिएको थियो ।

आकांक्षा र सुस्मिताको कमजोर पारिवारिक अवस्थाको फाइदा उठाउँदै उनीहरुलाई दोषी करार गरेर वास्तविक अपराधीलाई उन्मुक्ति दिने काम भएको तारामान बताउँछन् । बाल सुधार गृहमा छ महिना बसेर छुटेका सुस्मिता र आकांक्षालाई चरम गरिबीकै कारण उनीहरुको परिवारले अहिले पनि संरक्षण दिन सकिरहेको छैन । सुस्मिता र आकाक्षा अहिले पनि राजधानीको एक इँटाभट्टामा काम गरेर आफ्नो पेट पालिरहेका छन् ।

साथै, आफूहरुले नगरेको अपराधको सजाय भोग्नुपरेकोमा उनीहरुको बाल मस्तिष्कमा नराम्रो असर परेको छ । विछिप्त अवस्थामा रहेका सुस्मिता र आकांक्षा नयाँ मान्छेहरुसँग बोल्न पनि डराउँछन् । उनीहरुमा आफूहरुलाई फेरी थुन्न पठाइने हो कि भन्ने मानसिक चिन्ता छ । सुस्मिता र आकांक्षाले भनेझैं कालीमाया र रिनाको हत्यारा अरुनै हो भने उनीहरुको मानव अधिकार हनन् भएको छ । छ महिना भक्तपुरस्थित बालसुधार गृहमा बसेर छुटेका सुस्मिता र आकांक्षालाई राज्यले अभिभावकत्व प्रदान गर्न सकेको छैन । उनीहरु एकातिर कालिलै उमेरमा जोखिमपूर्ण शारीरिक श्रम गर्न बाध्य छन् भने अर्कोतर्फ सुरक्षितसमेत छैनन् ।

तारामानका अनुसार घटना भएको भोलिपल्ट कालीमाया र रिनाको शव सोही पालिकाको रातो ढुंगा भन्ने भीरमा फेला परेको थियो । लाश फेला परेको ठाउँ घट्ना घटेको भनिएको ठाउँबाट दुई किलोमिटर टाढा पर्ने तारामान बताउँछन् । तारामान १३ वर्षीय सुस्मिता र ११ वर्षीय आकांक्षाले ८ वर्षीय कालिमाया र १० वर्षीय रिनाको हत्या गरी दुई किलो मिटर टाढाको भीरमा लगेर फले भन्ने कुरामा आफूलाई विश्वास नै नरहेको बताउँछन् ।

रिपोर्टर्स समाचार प्रभावः कालीमाया–रिना हत्याकाण्ड संसद्मा प्रवेश, थप अनुसन्धानको माग

कालीमाया–रिना हत्या प्रकरण प्रतिनिधि सभामा समेत प्रवेश गरेको छ । छोरीहरुको आत्मको शान्तिका लागि न्याय पाउने सुनिश्चितता नभइ घर नफर्कने तारामान बताउँछन् । सुस्मिता र आकांक्षाले नाम लिएका कर्मटेक बुढामगर, विक्रम बुढामगर र दयालु बुढामगरलाई नियन्त्रणमा लिएर उक्त घटनाको सुरुदेखि नै छानविन हुनुपर्ने तारामानको माग छ ।



प्रतिक्रिया दिनुहोस्