काठमाडौं, ८ फागुन । हिजो (सोमबार) देखि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकको दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश भएका छन् । बैठकको सुरुमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए । त्यसैगरी, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथ अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरेका हुन् ।
उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराहरूको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए । जिम्मेवार नेपाली कांग्रेसः समुुन्नत देश नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले बताए ।
‘मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलीत समयन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भुमिका बिचार र नीति निर्णायक रहँदै आएको छ,”– उपसभापति खड्काले भने ।
महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव पेश गर्दै पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने र सामाजिक आन्दोलनसँग जोड्ने बताए । ‘पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौं । अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौं,’– महामन्त्री थापाले भने ।
महामन्त्री थापाले कांग्रेसलाई लोकतन्त्रमा आस्थावानहरूको एकमात्र विश्वासीलो र आम जनताको भरपर्दो पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरे । महामन्त्री थापाले एक विशिष्ट परिस्थितीमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको उल्लेख गरे । महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा पार्टी एक्लै चुनाव लड्न सक्ने गरी संगठनलाई बलियो बनाउने बताए ।
महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदन प्रस्तुत गर्ने क्रममा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरे । उनले संघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधान नै सबै चुनौतीको हल गर्दै मुलुकलाई समुन्नतीको उचाईंमा पुरार्याउने भरपर्दो माध्याम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट भएको बताए । महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गरे । ‘पटक–पटकको संसद् विघटन र संविधानको रक्षका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलव्धी हासिल भएको छ तर, पनि असन्तुष्टी र चुनौतीहरू बढ्दै गएको देखिन्छ,’– महामन्त्री शर्माले भनेका छन् ।
प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उल्लेख गरेका छन् । एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभार कांग्रेसको रहेको बताए ।
कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले लोकतान्त्रिक समाजवादको आर्दशलाई कांग्रेसले आत्मासाथ गर्ने बताए । उनले आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सिर्जना तथा सामाजिक सुरक्षाको प्रत्याभुति गर्नुपर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको जानकारी दिए । २०७७ असार मसान्तमा बैंक तथा वित्तिय प्रणालीमा ३२१० अर्बबाट वृद्धि भई कर्जा प्रवाह ०७९ असार मसान्तसम्म ४६२१ अर्ब पुगेको डा. महतले प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले अर्थतन्त्रलाई गतिशिल बनाउन पहल भइरहेको बताए ।
अर्थतन्त्रमा चुनौती कायमै रहेपनि समिष्टिगत आर्थिक परिसूचकमा क्रमश सुधार हुँदै गएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
त्यसैगरी लेखा समिति संयोजक श्याम घिमिरेले कांग्रेसको मुख्य आम्दानी सदस्यता लेभी, नवीकरण, शुल्क रहेको उल्लेख गरेका छन् । कांग्रेसले आफ्नो रकम निर्वाचन, अधिवेशन, कार्यालय सञ्चालन, भ्रातृ संगठन, ह्रास तथा अपलेखनमा खर्च हुने गरेको पनि लेखा समिति संयोजक घिमिरेले प्रतिवेदनमार्फत जानकारी गराएका छन् ।
हिजोदेखि सुरु भएको कांग्रेसको महासमिति बैठकमा मंगलबार पेश गरिएका प्रतिवेदनमा बुधबारदेखि चारवटा हलहरुमा छलफल हुनेछ । गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बीनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल हुनेछ । महासमिति बैठक फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।