काठमाडौं, ९ फागुन । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र बृषेशचन्द्र लाल नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टीबीच सहकार्यको सम्झौता भएको छ । दुई पार्टीबीच देशको वर्तमान परिस्थितिको दीर्धकालीन समाधानका लागि प्रयत्नशील रहने गरी सहकार्य गर्ने सम्झौता भएको हो ।
नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्ने संघीय लोकतान्त्रिक शुद्धीकरण गर्न दुई पार्टीबीच सहमति जुटेको छ । त्यस्तै तराई–मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति, विद्यमान सबै प्रकारका विभेद अन्त्य, निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहने विषयमा सहमति सहकार्यको सहमति जुटेको छ ।
त्यसैगरी, बाल आयोगको प्रतिवेदन सार्वजनिकरण तथा कार्यान्वयन गराउने विषयमा समेत दुई दल एक ठाउँमा उभिने भएका छन् । उनीहरुले उक्त विषयमा सहमत हुन सक्ने भए सहकार्यका लागि लोसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतका अन्य दलहरुलाई संयुक्त अपील गरेका छन् ।