Logo

कांग्रेसमा आम्दानीभन्दा खर्च धेरै



काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकमा पार्टीको लेखा परीक्षण प्रतिवेदन पेश भएको छ । हिजो (मंगलबार) केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गरेका हुन् । नेता घिमिरेले पार्टीको १४औं महाधिवेन पश्चातको आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन पेश गरेका हुन् ।

नेता घिमिरेले पेश गरेको प्रतिवेदनअनुसार आव २०७९/८० मा कांग्रेसको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । उक्त अवधिमा सदस्यता, लेभी र नविकरण शुल्क वापत ५७ लाख ६० हजार ८ सय, चन्दा तथा सहयोग वापत २ करोड ६५ लाख ६४ हजार ५ सय ७७ रुपैया, प्रकाशन बिक्रीबाट ९४ हजार ६ सय पचास रुपैँया, लिलाम बिक्री बापत २ लाख २५ हजार रुपैँया र व्याज आम्दानी बापत ३८ लाख ३१ हजार २ सय ७० रुपैँया आम्दानी गरेको छ । जम्मा कूल आम्दानी ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैँया रहेको छ ।

सोही आर्थिक वर्षको अवधिमा खर्च भने खर्च ७ करोड ९९ लाख ९५ हजार १ सय २१ रुपैया भएको छ । कांग्रेसले २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नै ३ करोड ८८ लाख ५७ हजार ९ सय ९३ रुपैया खर्च गरेको छ । त्यसैगरी, कार्यालय सञ्चालन बापत ३ करोड २२ लाख ५० हजार ४ सय ३२ रुपैया, भातृ संगठन सम्बन्धि खर्च बापत ४९ लाख ६० हजार रुपैया र ह्रास कट्टी तथा अपलेखन बापत ३९ लाख २६ हजार ६ सय ९६ रुपैया खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसले उक्त अवधिमा आम्दानीभन्दा ४ करोड ३५ लाख १८ हजार ८ सय २४ रुपैयाँ बढी खर्च गरेको छ ।



प्रतिक्रिया दिनुहोस्