Logo

ल्हारक्याल, किराँती र ज्वालाको राजीनामा माग्दै एमाले, रास्वपा र राप्रपाले गर्‍यो सदन अवरुद्ध



काठमाडौं, फागुन १० । प्रतिनिधिसभाको बैठक मा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित रास्वपा र राप्रपाले सदन अवरुद्ध गरेका छन् ।

आजको बैठकमा एमालेसहितका दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामालाई तत्काल बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेका हुन् ।

बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरु उठेर विारेध जनाएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिए । सांसद पन्तले प्रधानमन्त्रीले सुशासनमा विश्वास गर्ने हो भने मन्त्री ज्वाला, किराती, बस्नेत, र ल्हारक्याललाई बर्खास्त गर्नुपर्ने उनको भनाइ छ ।

‘प्रधानमन्त्री सुशासनको भाषण गरेर हिँडनुहुन्छ । भ्रष्टाचारको विरुद्धमा भाषण गरेर हिँडनुहुन्छ । अर्कोतिर पर्यटनमन्त्रीले सिफारिस गरेको उहाँले नियुक्त गरेको ल्यारक्याल लामाले लुम्बिनी विकास कोषको उपाध्यक्षको हैसियतमा रामग्राममा गरेको कामलाई सरकारी निकायहरु र समितिले समेत अनुपयुक्त ठहर्याउँछ ।’ सांसद पन्तले भने, ‘उहाँले त्यो सबै फिर्ता लिनुहुन्छ । त्यस्ताको लहैलहैमा लागेर प्रधानमन्त्री त्यो कार्यक्रमको उद्घाटनमा जानुहुन्छ । त्यो के–को तागतले ? अनि प्रधानमन्त्रीले सुशासनको भाषण गरेर हिँड्न मिल्छ ? नैतिक रुपले पर्यटनमन्त्री र ल्यारक्याल लामालाई उहाँले हटाउन पर्छ । नैतिकतामा विश्वास गर्ने हो भने उहाँ आफैंले पनि जवाफ दिनुपर्छ किन जानुभयो त्यहाँ ?’



प्रतिक्रिया दिनुहोस्