Logo

एकीकृत समाजवादीका प्रवक्ता खतिवडा भन्छन्, ‘मन्त्री ज्वालालाई बर्खास्त गर्ने/नगर्ने प्रधानमन्त्रीको हातमा छ’



काठमाडौं, ११ फागुन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बालकुमारी घटनाको सन्दर्भलाई लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रतिवेदनले उक्त घटनामा क–कसको कति गल्ती देखाएको छ सोहीअनुसार कारबाही हुनुपर्ने बताए । प्रतिवेदन अहिलेसम्म आफूहरुले हेर्न नपाएको दाबी गर्दै उनले प्रतिवेदन सार्वजनिक भएपछिमात्रै मन्त्री ज्वालालाई फिर्ता बोलाउने सन्दर्भमा पार्टीले निर्णय लिने बताए । प्रतिवेदन सार्वजनिक नभइ बजारमा आएका हल्लालाई लिएर मन्त्री ज्वाला उक्त घटनाको दोषी हुन् भनेर भन्न नमिल्ने उनको भनाइ छ ।

‘प्रकाश ज्वालालाई बर्खास्त गर्ने कि नगर्ने भन्ने विषय प्रधानमन्त्रीको हातमा छ, प्रधानमन्त्रीलाई पेश गरेको प्रतिवेदनको हातमा छ । त्यो प्रतिवेदनमा के लेखिएको छ ? हामीले केही जानकारी पाएका छैनौं । बजारमा आएका कुरालाई पत्याएर प्रतिवेदनले प्रकाश ज्वालालाई गल्ती देखाएको छ भन्न सकिँदैन,’– उनले भने ।

प्रतिवेदनमा लेखिएको अनुसार क–कसले कति–कति लगत गरेका छन् भनेर देखाएपछि मात्रै पार्टीले छलफल गर्ने उनको भनाइ छ । बालकुमारी घटनामा जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नका लागि आफूले बारम्बार सत्ता गठबन्धन दलका आग्रह गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्