Logo

एमालेको निशानीमा मन्त्रीहरु ज्वाला, किराती, श्रेष्ठ र बस्नेत



काठमाडौं, ११ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले बालकुमारी घटना छानविनका लागि बनेको जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई दोषी देखाउँदा पनि बर्खास्त नगरिएको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले एमालेको तर्फबाट नेता भट्टराईलाई बोल्नका लागि समय दिएका थिए ।

बहालवाला मन्त्री झण्डा हल्लाउँदै प्रदर्शन भइरहेको बाटो जाँदा भीड थप उत्तेजित भएको उनकाले भनाइ छ । ‘नेपाल सरकारका मन्त्री झण्डा हल्लाउँदै त्यही बाटो जानुहुन्छ र त्यहाँ भीड उत्तेजित हुन्छ । मन्त्री त्यहीबाट हिड्नु परिस्थितिलाई उत्तेजित हुने अवस्था भयो,’– उनले भने ।

गत फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘बालकुमार घटनामा हत्या हो’ भनि अभिव्यक्ति दिएको उनको भनाइ छ । यदि बालकुमारी घटना हत्या हो भने कसले हत्या गर्यो त्यो विषयमा प्रष्ट हुनुपर्ने उनले बताए । प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको अवस्थामा उक्त घटनाको नैतिक जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि लिनुपर्ने उनले बताए ।

बालकुमारी घटनाको छानविनका लागि बनेको बालकुमारी घटना जाँचबुझ आयोग २०८० ले मन्त्री दोषी देखाउँदा समेत पदमा बहाल रहिरहनु दुःखद् भएको उनको भनाइ छ । साथै, उनले बालकुमारी घटनासँग सम्बन्धित आयोगको प्रतिवेदन संसद्मा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झण्डा हल्लाउँदै गएर बयान दिएको भन्दै नेता भट्टराईले मन्त्री बस्नेतलाई पनि पदमा बसिरहनु नैतिकताले नदिने बताए । अख्तियारले बयान लिएको मन्त्री आफूहरुलाई किमार्थ स्वीकार्य नरहेको उनको भनाइ छ ।

मन्त्री बस्नेत अब पनि पदमा बसिरहँदा अख्तियारको छानविन प्रभावित हुने उनले बताए । त्यस्तै उनले लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाको नियुक्ति र उनले रामग्रामको जग्गा लिजमा दिने गरी गरेको विवादास्पद निर्णयलाई लिएर संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले समेत राजीनामा दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्