Logo

कवाडी हटाउने निर्णयबाट ब्याक हुन बालेनलाई कवाड व्यवसायी समाजको अपिल (भिडिओसहित)



काठमाडौं, ११ फागुन । कवाड व्यवसायी समाजले काठमाडौं महानगरपालिकाभित्र दर्ता भई व्यवसाय गर्दै आएका कवाडी व्यवसायीलाई व्यवसाय हटाउन वडा कार्यालयबाट पत्र पठाएको भन्दै आपत्ति जनाएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले महानगरपालिकाभित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरिदिएको र व्यवसाय हटाउन भन्दै पत्रचार गरेको बताएका हुन् ।

‘महानगरका विभिन्न वडा कार्यालयहरुवाट कवाडी हटाउने सम्बन्धमा पत्रहरु प्राप्त भएको हुदा यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । काठमाडौं महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र यस महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरिरहेको विषयमा हाम्रो घोर आपत्ती रहेको छ,’– कवाडी ब्यवासायी समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कवाड व्यवसायी समाजका अध्यक्ष रामकेवाल गुप्ताले आफूहरुले कवाड व्यवसाय गरेर कुनै नराम्रो काम नगरेको बताए । उनले महानगरले आफूहरुको कुरा नै नसुनी डोजर चलाएको बताए । आफूहरुको व्यवसाय हटाउने निर्णयबाट पछाडि नहटे महानगर प्रमुख बालेन्द्र शाहको कर्तुतहरु भण्डाफोर गर्ने उनको चेतावनी छ । आफूसँग महानगर प्रमुख र उनका सल्लाहकारहरुको फोन संवादसमेत रहेको उनले बताए । उनले निर्णय सच्याउनका लागि छलफलमा बस्न महानगर प्रमुख शाहलाई आग्रह गरे ।

कवाडी व्यवसायीले वातावरण प्रदुषण गरेको, फोहर गरेको भन्ने कुरा सरासर गलत भएको र कवाडी व्यवसायीले बरु फोहर संकलन गरेर वातावरण सफा राख्न सहयोग गरेको उनको दाबी छ । अध्यक्ष गुप्ताले कवाडी व्यवसाय हटाउदा लाखौं मानिसको रोजगारी गुम्ने र सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पर्ने बताए ।

आफूहरुले देशमा सञ्चालित उद्योगहरुलाई चाहिने पुनः प्रयोग गर्न मिल्ने सामग्रीको ७० प्रतिशत सामान सप्लाई गरिरहेको बताए । उक्त समान बाहिरबाट आयात गर्नुपर्ने भएकाले सरकारको व्यापार घाटा बढ्ने उनको भनाइ छ । उनले कवाड सामानहरु कसैले निःशुल्क हत्याउन खोजेको भन्दै यसको विरोध गर्न महानगरवासीलाई आग्रह गरे । महानगरबाट कवाड हटाउँदा खर्बौंको घाटा हुने र आफूहरुले सामूहिक आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना हुने उनले बताए । अध्यक्ष गुप्ताले आफूहरुले व्यवसायबाट हात धुने अवस्था आउँदा बैंकहरुसमेत डुब्ने बताए । आफूहरु महानगरको मापदण्ड मान्न र पालना गर्न तयार रहेको बताए । आफूहरुलाई हेपेर ब्यवासायबाट बञ्चित नगराउन उनले अपिल गरे ।

कवाडी ब्यवसायी समाजका कोषाध्यक्ष ओमप्रकाश सिंहले आफूहरुले प्रचलित कानुन बमोजिम दर्ता भएर सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएको र कानुन बमोजिम दर्ता रही वैधानिक तवरले व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय संचालन गर्न दिन आग्रह गरे ।
महानगरबाट कवाड व्यवसायलाई विस्तापित गराउँदा हजारौं जनशक्ति बेरोजगार हुन् कोषाध्यक्ष सिंहको दाबी छ । कवाडी ब्यबसायीहरुले बार्षिक लाखौं रुपैयाँ राजश्व बुझाएको उनको दाबी छ । यसरी महानगरबाट व्यवसाय विस्तापित गराउँदा सरकारको राजश्वसमेत घट्ने उनको भनाइ छ ।

कवाड व्यवसायी समाजका सचिव मुन्ना जैसवालले कर तिर्नेहरुमाथि महानगरले डण्डा चलाएको भन्दै आपत्ति जनाए । उनले हिजोमात्रै दुई जना व्यवसायीको कवाड संकलन गर्ने ठाउँमा महानगरले डोजर चलाएको बताए । उनले महानगरको उक्त कदमलाई आफूहरुले विरोध गर्ने बताए ।

कवाड व्यवसायी समाजका उपाध्यक्ष उपेन्द्रप्रसाद साहले काठमाडौंमा पाँच हजारभन्दा बढी संकलन केन्द्र रहेको र सात लाखभन्दा बढी मानिसहरु उक्त व्यवसायमा संलग्न रहेको बताए । कवाड व्यवसायीहरुले सरकारलाई वार्षिक पचास करोडभन्दा बढी कर तिरेको उनको दाबी छ । उपाध्यक्ष साहले बालेनले भन्दा पनि कवाड ब्यवसायीले काठमाडौंको सरसफाइ गरेको बताए ।

नेपाल रिकलेक्टर्सं एण्ड रिसाईकल एशोशिएसनकी कोषाध्यक्ष सुशिला कठायतले महानगरले कवाड ब्यवसायलाई नै बन्द गराउने नीति लिएको भन्दै आपत्ति जनाईन् । कवाड ब्यवसायी नभए काठमाडौं महानगर फोहोरले भरिने उनको भनाइ छ । आफूहरुलाई ब्यवासायबाट पलायन गराउन खोजिएको भन्दै उनले आन्दोलनमा उत्रिने चेतावनी दिईन् । आफूहरु कुनै कमीकमजोरी भएको सुध्रिन तयार रहेको पनि उनले बताईन् । कवाड ब्यवसायलाई निकाल्ने भन्दा पनि ब्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

कवाड व्यबसायी श्याम यादवले आफूहरुलाई ब्यवसाय गर्ने अधिकारबाट बञ्चित गराउने कुरा राम्रो नभएको बताए । गरिब जनताको भोकमरी बुझिदिन उनले काठमाडौं महानगरका प्रमुख शाहको ध्यानाकार्षण गराए ।



प्रतिक्रिया दिनुहोस्