Logo

पल शाहलाई ज्योतिष भट्टराईले दिए मालिका मन्दिरको तस्वीर उपहार



काठमाडौं, ११ फागुन । म्याग्दीका एक चर्चित ज्योतिष भवेश भट्टराईले नायक पल शाहको जन्मदिनको उपलक्ष्यमा धार्मिक एवं पर्यटकीयस्थल म्याग्दीको मालिका मन्दिरको तस्वीर उपहार दिएका छन् । ज्योतिषी भट्टराईको घर म्याग्दीको मालिका–७ मा रहेको र विगत १० वर्षदेखि पोखरा बस्दै आएका छन् ।

नायक शाहसँग दाजुभाइको जस्तो सम्बन्ध रहेको ज्योतिषी भट्टराईले बताए । साथै, उनले मालिका मन्दिर विकास, निर्माण र व्यवस्थापन स्थानीय तह, प्रदेश सरकार केन्द्रीय सरकारले गर्दै आएतापनि उत्थान र प्रचारप्रसार र प्रगतिको लागि सबैका माझ पुगोस् भनेर जन्मदिनको अवसरमा उपहारस्वरुप मालिका देवी मन्दिरको तस्वीर उपहार दिएको बताए ।

उनले यस विषयमा नायक शाह पनि निकै खुसी र उत्साहित भएको र कुनै दिन म्याग्दी मालिका देवी मन्दिर दर्शन गर्न जाने बताएको जानकारी गराए ।

मालिका मन्दिरबारे

समुद्री सतहबाट ३ हजार ३ सय मिटरको उचाइमा मालिका धुरी अवस्थित छ । मालिका धुरीमा मालिका देवीको मन्दिर बनाइएको छ भने त्यही मन्दिरभित्र १९१० बाट विशेष पूजाआजा गर्दै आएको किम्बदन्ती छ । भूगोलका हिसाबले म्याग्दी जिल्लाको मध्य भागमा रहेको सबैभन्दा उच्च ठाउँको मालिका धुरी धार्मिक तथा पर्यटकीय किसिमले महत्त्वपूर्ण मानिन्छ । मालिका धुरीबाट धौलागिरि, अन्नपूर्ण, मानापाथी, निलगिरि, माछापुच्छ्रे, गुर्जा, मनास्लु, सिस्नेलगायत झण्डै दुई दर्जन भन्दा बढी हिमालहरु देखिन्छन् । म्याग्दीको ३५ भन्दाबढी ग्रामीण बस्तीहरु देखिने मालिका धुरी आसपासको जङ्गलमा बहुमूल्य जडिबुटी, वन्यजन्तु जनावर,पक्षीहरुको अवलोकन गर्न सकिन्छ ।

मालिका धुरीमा पुगेर मन्दिरको दर्शन तथा पूजाआजा गरेमा आफ्नो मनोकामना पूरा हुने विश्वासले हरेक वर्ष धार्मिक पर्यटकहरु मालिका आउने गरेको ज्योतिषी भवेश भट्टराई बताए । उनले अध्ययन, वैदेशिक यात्रा, सन्तान प्राप्ति र सन्तान नहुनेको लागि पनि त्यहाँ गएपछि सन्तान प्राप्ति हुने, कान नसुन्ने, बोल्न नसक्नेहरु पनि त्यहाँ गएर दर्शन गरे सबै समस्याबाट मुक्त हुने विश्वास रहेको बताए । राजनीतिक क्षेत्रमा रुचि राख्ने व्यक्तिहरुले पनि मालिका देवीको दर्शन गरेमा सफलता प्राप्त गरिरहेको उनको भनाइ छ । मालिका दर्शन गर्नेहरुको व्यापार व्यवसाय र रोजगारीमा पनि फलता प्राप्त हुने गरेको उनको दाबी छ ।

ज्येष्ठी, चण्डी र कात्तिके पूर्णिमाका दिन भक्तजनहरुको भीड लाग्ने, नरिवल, कुबिन्डो र बली चढाएमा मनोकामना पूरा हुने विश्वास रहेको छ । मनोकामना सिद्धिका लागि परेवा उडाउने गरिएको छ । प्रसिद्ध मालिका धुरी तथा मालिका मन्दिरको दर्शन र पूजा अर्चना र कामना सिद्दिको लागि म्याग्दीसहित पर्वत, बाग्लुङ, पोखरा तथा चितवन काठमाडौं लगायत ठाउँबाट धार्मिक पर्यटकहरु आउने गरेका छन् । मालिकामा वैशाख, जेठ र कात्तिक, मंसिरमा मानिसहरुको भीड लाग्ने गर्दछ । घुमफिरका लागि हिउँ पर्ने समय र लालीगुराँस फुल्ने समयमा पनि भएकोले ग्रामीण बासिन्दा र पर्यटकहरु मालिका पुगेर रमाउने गर्दछन् । धार्मिक र पर्यटनको साथसाथै मालिका धुरी आसपास क्षेत्रमा विभिन्न प्रकृतिका बहुमूल्य जडिबुटी तथा वन्यजन्तु जनावर र पक्षीहरु पाइनु यहाँको अर्को थप आकर्षण र रमाइलो वन जंगल पनि छन् ।



प्रतिक्रिया दिनुहोस्