Logo

राजसंस्था पुनर्स्थापनाका लागि स्वतस्फूर्त सडकमा आउन शाही युवा शक्ति नेपालको आग्रह (भिडिओसहित)



काठमाडौं, ११ फागुन । शाही युवा शक्ति नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुनः गद्धी आरोहणका लागि आगामी फागुन १९ गते प्रदर्शन गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी शाही युवा शक्ति नेपालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राजा चाहियो भन्नेहरुलाई आगामी फागुन १९ गते स्वतस्फूर्त रुपमा सडकमा आउन आह्वान गरे ।

‘तपाईँहरु निस्वार्थ रुपमा, स्वतस्फूर्त राजा चाहियो भन्नेहरु सडकमा आउन पर्छ । सडक छोड्न हुन्न । अब निरन्तर रुपमा सडकमा बसेर ज्ञानेन्द्र सरकारको तेस्रो पटक गद्धी आरोहण, हिन्दुराष्ट्र पुनर्स्थापना र संघीयता खारेजीको लागि एक हप्ता आन्दोलन गरौं,’– उनले भने ।

उनले गणतन्त्रको वितृष्णको कारण राजा चाहियो भनेर हजारौं जनता सडकमा निस्कने अवस्था आइरहेको बताए । अहिले जनताको नजरमा सबैभन्दा लोकप्रिय पात्र पूर्वराजा ज्ञानेन्द्र रहेको उनको दाबी छ । सामाजिक सञ्जाल टिकटक बन्द गराएको भन्दै उनले वर्तमान सरकारको आलोचना गरे ।

आफूहरुले देश, धर्म र अस्तित्व बचाउन नेपालमा राजाको विकल्प नदेखेर नै विभिन्न आन्दोलन गर्दै आएको बताए । नेपालमा राजा र राजसंस्था नेपाली जनताको बलमा फर्किने उनको दाबी छ ।

कार्यक्रममा उपाध्यक्ष प्रेम बैदार, राजावादीहरु जलबहादुर तामाङ, बासुदेव शर्मा, रोनक शाक्य, इच्छाराम कार्कीलगायतले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा आफ्ना भनाइहरु राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्