Logo

कांग्रेसले सरकारलाई प्रतिपक्षले भन्दा पनि कठोर ढंगले प्रश्न गरिरहेको छः रमेश लेखक



काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् पार्टीको प्रचार–प्रसार गर्ने थलोको रुपमा विकास भएको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद्मा विभिन्न विधेयक र कानुन निर्माणका कार्यसूची भएपनि सांसदहरु आफ्नो दलभन्दा अरु कोही राम्रो छैन भनेर दलीय स्वार्थमा लाग्दा कानुन निर्माण प्रक्रिया नै अवरुद्ध बनेको बताएका हुन् । उनले यस्ता प्रकारका गतिविधिले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै कमजोर बनाउँदै लगेको बताए ।

‘अहिले हाम्रो संसद्भित्र असहज कस्तो देखिएको छ भने, कार्यसूचीमा विभिन्न विधेयकहरु छन्, कानुनहरु छन् । तिनमा छलफल गर्नुछ, बढीभन्दा बढी परिमार्जन गरेर अगाडि लैजानु छ । आफ्नो दल एकदमै राम्रो हो ।’ उनले भने, ‘मेरा दलबाहेक अरु खराब हुन् भनेर सम्प्रेषण गर्ने र राजनीतिक प्रचारप्रसारको थलोको रुपमा हामीले उपयोग गर्न थाल्यौं । यदि संसद् प्रभावकारी भएन भने यो व्यवस्था प्रभावकारी हुँदैन । हामीले संविधानको रक्षा गरौं । संघीय लोकतान्त्रिक ब्यवस्थालाइ सुदृढ गरौं ।’

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संसदीय शासन प्रणाली भएको बताउँदै नेता लेखकले संसद् प्रभावकारी भएन भने संविधान र लोकतन्त्र नै खतारामा पर्नसक्ने आशंका व्यक्त गरे । उनले भने, ‘यो व्यवस्था भनेको संसदीय शासन प्रणाली हो । सबै काम संसद्माफर्त गर्ने हो । संसद् प्रभावकारी भएन भने न संविधानको रक्षा हुन्छ, न संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई समृद्ध गर्नसक्छ ?’

संसद् प्रतिपक्षको हो भन्ने नेकपा (एमाले) ले यो सरकार बेठीक छ म मात्रै राम्रो हो भनेर संसद्लाई प्रयोग गर्न नहुने उनको भनाइ छ । उनले प्रतिपक्षहरु पनि कानुन बनाउने र रचनात्मक कार्यमा लाग्नुपर्ने बताए । कांग्रेसबाट निर्वाचित सांसद्हरुले सरकारलाई प्रतिपक्षले भन्दापनि कठोर ढंगले प्रश्न र खबरदारी गरिरहेको उनको दाबी छ ।

‘कांग्रेसका मान्छेहरुले सरकारलाई, मन्त्री र प्रधानमन्त्रीलाई प्रतिपक्षको भन्दा पनि कठोर ढंगले प्रश्न गरिराखेका छन् । व्यक्ति विशेषको नाम लिएर गाली गर्ने ढंगले नबोलेसम्म नबोलेको मानिने हो ?’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot