Logo

संसद्का महासचिवको दोहोरो नागरिकता छ भने सरकारले छानविन गरेर जेल हालोस्ः प्रमुख सचेतक गिरी



काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले संसद्का महासचिव पदमप्रसाद पाण्डेको दोहोरो नागरिकता र राहदानी छ भने सरकारले छानविन गरेर कारबाही गर्नुपर्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद्का महासचिव,सांसद, नेता वा जोसुकै सर्वसाधरण भएपनि दोहोरो नागरिकता र राहदानी लिनेलाई जेल हाल्नुपर्ने बताएका हुन् ।

पाण्डेलाई महासचिव एमालेले नबनाएर सरकारले नै बनाएको उनले स्मरण गराए । संसद्का महासचिव पाण्डेको दोहोरो नागरिकताको विषयलाई लिएर एमालेलाई धारेहात लगाउन पर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।

‘संसद्को महासचिको होस्, सांसदको होस्, कोही नागरिक अथवा जो कसैको होस् । कानुन विपरीत कसैले नागरिकता लिएको छ, राहदानी लिएको छ, गैरकानुनी काम कसैले गरेको छ भने त्यसलाई छानविन गर्नुपर्छ । कानुनको दायरामा ल्याउनुपर्छ, जेल हाल्नुपर्छ । त्यो हाल्ने कसले ? प्रतिपक्षले हो ? सरकारले होईन ? संसद्को महासचिवको नियुक्ति नेकपा (एमाले) ले गरेको हो ? प्रतिपक्षले गरेको हो ?’ उनले प्रश्न गरे ।

राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधि सभाको सभामुखबाट संसद्को महासचिवमा पाण्डे सिफारिस भएपछि बाहिरिएका आशंकाबारे राज्य व्यवस्था तथा सुशासन समितिले छानविन गरेको उनले बताए । त्यस्तै पाण्डेको नागरिकता विवादलाई लिएर अदालतमा हालिएको रिटमसेत दरपीठ भएकाले बाँकी अनुसन्धान र कारबाही गर्ने काम सरकारकै भएको उनले बताए ।

‘यस सम्बन्धमा यथार्थ के हो ? सरकारले खोजविन गरोस् । छानविन गरोस् । गल्ती गरेको छ भने कारबाही गरोस् । तर, के होईन भने संसद्भित्र सचिवालयका पदाधिकारीहरु, सभामुखलाई आफ्नो अनुकूलतामा गर्न सकिएन भनेर धारेहात लगाएर गाली गर्न पाइँदैन,’– प्रमुख सचेतक गिरीले भने ।



प्रतिक्रिया दिनुहोस्