Logo

नापतौलमा ठगी गर्नेलाई जरिबाना



काठमाडौं, १२ फागुन । नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिबाना गरिएको छ । नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने सात सय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही स्वरुप जरिबाना गरिएको हो ।

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको सात महिनामा सो कारबाही गरेको जनाएको छ । सो कार्यालयवाट विभिन्न समयमा बजार क्षेत्रमा खटिएका कर्मचारी तथा उजुरीका आधारमा उक्त सङ्ख्यामा कारबाही गरिएको कार्यालय प्रमुख मनिषकुमार दासले जानकारी दिए ।उनका अनुसार कार्यालयले चालू आवको उक्त अवधिमा सात सय ६६ व्यवसायी तथा उद्योगीलाई नापतौल यन्त्र सञ्चालनका लागि नयाँ इजाजतपत्र प्रदान गरिएको छ ।

कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार मकवानपुर, चितवन, पर्सा, बारा तथा रौतहट जिल्लाका व्यवसायी तथा उद्योगीलाई २०८०र८१ को साउनदेखि माघसम्ममा सो इजाजतपत्र प्रदान गरिएको जनाइएको छ ।

पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले सात महिनाको अवधिमा ३४ व्यवसायीको नापतौल यन्त्रको नवीकरण, दुई हजार पाँच सय १६ व्यवसायीको यन्त्रको जाँचसमेत गरिएको प्रमुख दासले जानकारी दिए । उनका अनुसार एक सय ५५ पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, चार सय ८६ पम्पको नोजल जाँचलगायत जाँच गरिएको छ ।

सो अवधिमा कार्यालयका कर्मचारीबाट विभिन्न बजारक्षेत्रको १० स्थानमा डोर सञ्चालन, एकल अनुगमन २० पटक र नौ पटक संयुक्त अनुगमन भएको थियो । चालू आवको हालसम्म ७३ लाख सात हजार आठ सय ५९ राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सञ्जीव ठाकुरले जानकारी दिए ।

हेटौँडाको औधौगिक क्षेत्रमा रहेको नापतौल विभागको ट्याङ्कर ‘क्यालिविरेशन’को कार्यालयमा भौतिक साधन, बजेट तथा कर्मचारीको अभावले काम गर्न समस्या भइरहेको कार्यालयका अधिकृत नयन आचार्यले बताए ।



प्रतिक्रिया दिनुहोस्