Logo

संसद्मा सुबोधको गर्जनः ‘वर्तमान संविधान र व्यवस्थाको विकल्प राजा र राजतन्त्रवादीहरु किमार्थ हुन सक्दैनन्’



काठमाडौं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले वर्तमान संविधान र व्यवस्थाको विकल्प राजा र राजतन्त्रवादीहरु हुन नसक्ने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान संविधानको व्यवस्थाालाई मानेर चुनावमा सहभागी हुने, सांसद्, मन्त्री बन्ने र यही व्यवस्थाको विरोध गरेर राजाको पक्षमा संसद्मा वकालत गर्ने कार्य किमार्थ स्वीकार्य नरहेको बताएका हुन् ।

वर्तमान व्यवस्थाको विकल्प उन्नत प्रकारको लोकतान्त्रिक व्यवस्थामात्रै हुनसक्ने उनको दाबी छ । उनले वर्तमान संविधान र व्यवस्थामा रहेका कमी कमजोरीका बारेमा संसद्मा बहस गर्न सकिएपनि यसको विरुद्धमा बहस गर्ने कार्य आफूहरुलाई स्वीकार्य नरहेको बताए ।

‘पाइहाल्दा मन्त्री पनि हुने, यही संसद्को लोगो लगाएर भएभरका सम्पूर्ण सेवा सुविधासमेत लिने, तर फेरि यही व्यवस्थाको विरोध गर्ने । यो कति नैतिक छ ? यो व्यवस्थाको विकल्प यो भन्दा उन्नत प्रकारको र यो व्यवस्थाभित्र रहेका सीमा र कमजोरीहरुका बारेमा यो संसद्मा गज्जबले बहस गर्न सकिन्छ । तर, यो व्यवस्थाका बारेमा संविधानभन्दा माथि गएर, संविधानलाई ध्वंस गर्ने गरी बहस गर्ने अधिकार कसैलाई छैन,’– उनले भने ।

राजा र राजसंस्थाको पक्षमा वकालत गरिरहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् र माओवादी केन्द्रबाट निर्वाचित भएका सांसद्हरु बीच सदनमा लामो समयदेखि रसाकस्सी चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्