Logo

माधव सापकोटालाई ज्ञानेन्द्र शाहीको जवाफ: गोबर र आलुको गठबन्धनलाई हराएर आएको हुँ, हेक्का होस्



काठमाडौं,१३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा मूख्य सचेतक ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटालाई संविधान पढेर आउन आग्रह गरेर छन् ।

आज बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शाहीले आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटालाई लक्षित गर्दै संविधान पल्टाएर जवाफ दिएका छन् । उनले संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पति विनाश पनि नगरेको भन्दै धारणा राखेका छन् ।

सांसद शाहीले संविधानले कुन अवस्थामा सांसदले पदबाट राजीनामा दिने भन्नेबारे प्रष्ट व्यवस्था रहेको बताउँदै कुनै अमुक व्यक्तिले राजीनामा माग्दैमा आफूले राजीनामा नदिने बताए । उनले भने ‘ म जुम्ली दाजुभाई दिदिबहिनीको अत्याधिक मतले निर्वाचित भएर आएको हुँ । गोबर र आलुको गठबन्धनलाई परास्त गरेर सांसद बनेको हुँ । कुनै अमुक व्यक्तिले मेरो राजीनामा माग्न पाउँदैन । हेक्का होस् ।

शाहीले माओवादीलाई लक्षित गर्दै हत्या हिंसा गरेर आएको होइन भनेपछि माओवादीका प्रमुख सचेतक पाण्डे उठेर नियमापत्ति गर्दै ती शब्द आपत्तिजनक रहेको बताए ।

तर, पाण्डेलाई काउन्टर गर्दै कांग्रेस सांसद सुनिल शर्माले एउटा सांसदले बोल्दा अर्कोले नियमापत्ति गर्न नपाउने बताए । उनले आफूलाई सरकारले थुनेर छुटेपछि संसदमा आएर बोल्ने बेला पनि पाण्डेले यसैगरी नियमापत्ति गरेको भन्दै शाहीको पक्ष लिएका थिए ।

सत्तापक्षकै सांसद आफ्नो विपक्षमा उभिएपछि पाण्डे आफ्नो स्थानमा बसेका थिए । त्यसपछि पनि ज्ञानेन्द्र शाहीले लगातार माओवादीप्रति लक्षित गर्दै आक्रामक अभिव्यक्ति दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्