Logo

फस्टाउँदै शान्ता चौधरीको व्यापार, ओलीले किने चार हजारको अचार



काठमाडौं,१३ फागुन । नेकपा (एमाले) की केन्द्रीय सदस्य एवं पूर्व सांसद शान्ता चौधरीले थालेको अचार व्यापारले राम्रो साथ पाइरहेको छ । गत प्रतिनिधि सभा निर्वाचनमा पराजित भएयता नेतृ चौधरी अचारको व्यापारमा लागेकी हुन् ।

केही महिनायता विभिन्न प्रकारका अचारको व्यवसायमा लागेकी चौधरीले आइतबार पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि केही अचार लगिदिएकी छन् । ओलीले चौधरीसँग ४ हजार रुपैयाँ बराबरको टिमुर र लसुनको अचार खरिद गरेका छन् । आइतबार ओली निवास बालकोटमा चौधरी अचार लिएर पुगेकी थिइन् ।

नेतृ चौधरीसँग अचार किनेको बारे ओली आफैंले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले लेखेका छन्- ‘शान्ता चौधरीले ‘शान्ताको अचार उद्योग’ खोल्नु भएको रहेछ। उद्योगबाट २२ किसिमका अचार उत्पादन भइरहेका रहेछन्। मलाई मन पर्ने टिमुर र लसुनको अचार मैले किनेँ । शान्ता चौधरी पूर्व सांसद पनि हुनुहुन्छ र राजनीतिमा सक्रिय हुनुहुन्छ । आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना ! शान्ताजीलाई बधाई !!’

राजनीतिमा लाग्ने व्यक्ति आफ्नो व्यवसायमा आत्मनिर्भर हुनुपर्छ, उद्यम व्यवसायतर्फ जोडिनुपर्छ भन्ने भावनाबाट आफूले व्यवसाय थालेको नेतृ चौधरीको भनाइ छ । उनी अघिल्लो प्रतिनिधि सभामा एमालेको तर्फबाट संसदीय दलको सचेतकसमेत भएकी थिईन् । लामो समयसम्म कमलरी जीवन बिताएकी चौधरीले सांसद बनेपछि पढाईसमेत सुरु गरेर चर्चामा आएकी थिईन् । उनको कमलरीदेखि सभासदसम्म नामक आत्माकथा समेत प्रकाशीत छ ।



प्रतिक्रिया दिनुहोस्