Logo

रामहरि खतिवडाले सरकारको विरोध गर्दा एमाले सांसदले ठटाए टेबल



काठमाडौं,१३ फागुन । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजेदेखि बैठक बसिरहेको छ ।

आज बसिरहेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दलसबन्धी (दोस्रो संशोधन) बिधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त बिरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गर्दैछन् ।

त्यस्तै, उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसबन्धी (दोस्रो संशोधन) बिधेयक २०८०’ लाई प्रस्तुत गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा नेपाली कांग्रेसका सांसद तथा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका रामहरि खतिवडाले सरकारको चर्को आलोचना गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले टेबल ठटाएर समर्थन गरेका छन् ।

खतिवडाले सरकार र सरकारका मन्त्रीहरुले पछिल्ला दिनमा गरिरहेको विवादित निर्णयमा सरकराले नियमन गर्न नसकेको भन्दै चर्को आलोचना गरेका हुन् । उनले रामग्राम परियोजना एउटा अमुक व्यक्तिलाई बिना कनै प्रतिस्पर्धा लिजमा दिएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको आलोचना गरेका थिए ।

मन्त्री किराँती प्रचारवाजी र स्टन्टमा लागेको भन्दै आलोचना गरेका हुन् । ‘मन्त्रीजी असाध्यै सुधार गर्न लागेको आभास मिलेको छ । एउटा झाडु र क्यामरा लिएर गएर फोटो खिची बाहिर ल्याउने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो ? सस्तो लोकप्रियताका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टीभी लिएर गइ त्यो भिडियो हाल्दिएपछि सबभन्दा क्रान्तिकारी र राम्रो हुने हो भने मुलुक कसरी विकास गर्ने ? त्यसमा सरकारको ध्यान जाओस्,’ उनले भने ।

खतिवडाले सुशासनको नाममा ल्यारक्याल लामाजस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषमा नियुक्त गरेको भन्दै विरोध जनाए । ‘गौतम बुद्ध शान्तिको दूत, उनैको नाममा लकरमा गोली राख्ने मान्छेलाई नियुक्ति गरेपछि देशको हालत के होला सभामुख महोदय ?’ उनले प्रश्न गरे । खतिवडाले यस्तो भनिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले बेजोडले टेबुल ठोकर समर्थन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्